• १३ साउन २०८१, आइतबार

दसवर्षे रणनीति सार्वजनिक

blog

पोखरा समाचारदाता

पोखरा, असोज ५ गते । गण्डकी विश्वविद्यालयले आफ्नो १० वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विश्वविद्यालयले तयार पारेको उक्त रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। प्रदेश प्रमुख गुरुङले १० वर्षे योजना समयमै पूरा गर्नुपर्ने बताउनुभयो। धेरै योजना सुरु गर्ने तर बीचमै छाड्ने प्रवृत्ति स्मरण गर्दै उहाँले प्रदेशको गौरवसँग जोडिएका योजना पूरा गर्नुपर्नेमा जोड दिनुभयो।

गण्डकी विश्वविद्यालयले प्रदेशमा बस्ने जनताको आवश्यकताका आधारमा पाठ्यक्रम बनाएर जानुपर्ने प्रदेश प्रमुख गुरुङको भनाइ थियो। विश्वविद्यालय चलाउन आर्थिक स्रोतको जोहो मुख्य चुनौती रहेकाले यसको सुनिश्चिततामा ध्यान दिन उहाँले सुझाव दिनुभयो।

१० वर्षे रणनीतिक योजनाभित्र आठवटा मूल्यमान्यता, १२ वटा रणनीतिक स्तम्भ, १४ वटा लक्ष्य, १४ वटा उद्देश्य, ४८ वटा कार्यगत रणनीति र १४५ वटा गतिविधि समेटिएका छन्। यो योजना सन् २०२२ मा सुरु भई २०३२ सम्म पूरा गराउने लक्ष्य रहेको विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले बताउनुभयो। कुलपति प्रा.डा. गणेशमान गुरुङले सैद्धान्तिक रूपमा बनेका योजनाका बुँदाहरूलाई प्रयोगात्मक बनाउँदै लैजाने उल्लेख गर्नुभयो। उहाँले विश्वविद्यालयले अध्ययन, अनुसन्धान र उत्पादनमा जोड दिएकाले रणनीतिक योजना पूरा गरेरै छाड्ने विश्वास दिलाउनुभयो।

सो रणनीतिक योजना तयार पार्न निःशुल्क सहयोग गरेका नीति तथा योजना आयोग, गण्डकी प्रदेशका पूर्वउपाध्यक्ष डा. गिरिधारी पौडेलले योजना उत्कृष्ट बनेको दाबी गर्नुभयो। २०÷३० वटा अभ्यास र ४० वटा विश्वविद्यालयको ढाँचालाई आधार बनाएर तयार गरेकाले उत्कृष्ट भएको उहाँले बताउनुभयो। पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजङ्ग बरालले आफूले बनाएको योजनालाई आफैँले राम्रो भनेर बयान गर्नुको कुनै अर्थ नरहेको तर्क गर्दै योजना बनाएर सफल कार्यान्वयनपछि जनताले गर्ने मूल्याङ्कनका आधारमा सफल÷असफल हुने बताउनुभयो।