• ११ मंसिर २०८१, मङ्गलबार

विज्ञसहित बजार अनुगमन

blog

काठमाडौँ, असोज ५ गते  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको आइतबारदेखि काठमाडौँ उपत्यकामा दशैँलाई लक्षित गरेर विषय विज्ञसहितको टोलीले बजार अनुगमन गरिरहेको छ । विभागको नेतृत्वको छुट्टाछुट्टै विज्ञसहितको नौवटा टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको जनाइएको छ । 

विभागका निर्देशक होमनाथ भट्टराईले चाडपर्वमा बढी माग र खपत हुने वस्तु र सेवामा लक्षित गरी विषय विज्ञसहितको अनुगमन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्नेजस्ता समस्या नहुन भनेर सरकारले अनुगमनलाई प्राथमिकतामा राखेको छ ।

 उहाँले भन्नुभयो, “मासु अनुगमन गर्दा पशु सेवा विभागका पशु चिकित्सकसहितको विज्ञ टोली रहन्छ, खाद्यवस्तुको अनुगमन गर्दा खाद्यविज्ञ, औषधिको अनुगमन गर्दा मेडिकल चिकित्सक, माछा बजारको अनुगमन गर्दा माछाविज्ञ, तरकारी तथा फलफूलको अनुगमन गर्दा कृषि विज्ञसहितको टोली रहन्छ, त्यसको प्रभाव छिटो देखिन्छ ।” 

निर्देशक भट्टराईका अनुसार अनुगमन आइतबारदेखि विषय विज्ञसहितको टोलीले दैनिक ४५/५० वटा व्यावसायिक फर्मको अनुगमन गरेर जुन कानुन बढी प्रभावकारी हुन्छ, त्यहीअनुसार कारबाही तथा जरिवाना गरिएको छ । 

उहाँले दुई, तीन दिनपछि अझै थप केही टोली थप्ने गरी तयारी भएको पनि जानकारी दिनुभयो । विभागका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।