• १३ साउन २०८१, आइतबार

घाँटीमा सेन्सर माला अब गाईको पछाडि लाग्नु नपर्ने

blog

शालिग्राम नेपाल 

चितवन, असोज ५ गते । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले सुरु गरेको नेक कोलार सिस्टम (गाईको घाँटीमा बाँधिने सेन्सर माला) प्रभावकारी बन्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले गत वैशाख महिनादेखि सुरु गरेको नेक कोलार सिस्टम प्रभावकारी बन्दै गएको देखिएको हो ।

अनुसन्धान कार्यक्रमको फार्ममा रहेका २०५ वटा गाई तथा बाच्छाबाच्छीमध्ये २० वटा गाईमा नेक कोलार लगाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा सुरु भएको नेक कोलार (गाईको घाँटीमा बाँधिने सेन्सर माला) कार्यक्रमलाई निरन्तरता दिन यो वर्ष पनि बजेट विनियोजन गरिएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।

नेक कोलार सिस्टमले फार्ममा रहेका गाईहरूको वास्तविक अवस्था के छ भनेर सजिलै पहिल्याउन सकिन्छ, पौडेलले भन्नुभयो, “गाईको स्वास्थ्य अवस्था, खाना खाएको नखाएको, श्वासप्रश्वासको अवस्था तथा गाई ‘हिट’मा आएको नआएको भन्नेलगायतका कुरा कम्प्युटरमै बसेर पत्ता लगाउन सकिने पद्धति हो । फार्म परिसरमा जडान गरिएको कन्ट्रोलरले गाईको घाँटीमा बाँधिएको सेन्सरसँग समन्वय गरेर डाटालाई कम्प्युटरसमक्ष ल्याउने काम गर्छ ।” गोठमा रहेका गाईको समग्र अवस्था के छ भनेर देशको जुन कुनै ठाउँमा रहेर पनि मोबाइलमार्फत हेर्न सकिने भन्दै उहाँले यसले गाईकै गोठमा बसिरहनुपर्ने झन्झटलाई हटाएको बताउनुभयो । 

घाँटीमा लगाएको मालाले उसको अवस्थाका बारेमा टावरमा पठाउँछ, टावरबाट कम्प्युटरमा, एप्समा पठाएर ग्राफ देखाउँछ । त्यही ग्राफको सन्देश मोबाइलमा एसएमएस पठाएपछि थाहा पाइन्छ, प्रमुख पौडेलले भन्नुभयो । पौडेलका अनुसार यसले समय, श्रम र ज्यालाको समेत बचत भएको छ ।

गाई अनुसन्धान कार्यक्रम रामपुरमा प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डेले नेक कोलार लगाउनुपूर्व गाईको विवरण कम्प्युटरमा प्रविष्ट गरिने र त्यसकै आधारमा कम्प्युटर तथा मोबाइल एप्लिकेसनमार्फत गाईको निगरानी गर्ने काम भइरहेको बताउनुुभयो । इजरायलबाट भित्रिएको यो प्रविधिलाई नेपालका केही निजी फार्महरूले समेत प्रयोग गर्न सुरु गरेको उहाँले बताउनुभयो । कार्यालयका अनुसार एउटा गाईलाई यो प्रविधि जडान गर्न १६ हजार रुपियाँ लाग्दछ । 

रामपुरस्थित गाई अनुसन्धान कार्यक्रमको गोठमा हाल जर्सी, होलिस्टिन, लुलु, अछामी र तराई प्रजातिका गाईहरू छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले एक वर्षमा एक करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । गाई फार्मबाट दूध बिक्री गरेर ९० लाख रुपियाँ र दुग्धजन्य पदार्थबाट १० लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

आर्थिक वर्ष २०७८/७९ मा प्रतिलिटर ६४ रुपियाँमा एक लाख ७५ हजार लिटर दूध बिक्री भएको कार्यालयले जानकारी दिएको छ । गाई अनुसन्धान कार्यक्रम रामपुरमा कार्यरत जनशक्तिका लागि निर्माण गरिएको ६० घरधुरीमा यहीँबाट उत्पादन हुने गोबर ग्यास प्लान्टबाट खाना पकाउने गरिएको अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख पौडेलले जानकारी दिनुभयो ।