• १६ चैत २०८०, शुक्रबार

नेपाल–चीन सम्बन्ध नयाँ चरणमा पुर्‍याउने चाहना

blog

काठमाडौँ, असोज ५ गते । चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँग चीनले मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारीको सम्बन्धलाई नयाँ चरणमा पु¥याउने चाहना व्यक्त गर्नुभएको छ। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासमा उच्च महत्व दिँदै एकअर्कासँग मिलेर विकास तथा समृद्धिउन्मुख युगौँयुगसम्म चल्ने मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारीलाई नयाँ चरणमा पु¥याउने इच्छा व्यक्त गर्नुभएको हो। 

चीन–नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी भएको औँल्याउँदै राष्ट्रपति सीले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए पनि दुई छिमेकी देश सधैँ एकले अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्ने सन्देशमा उल्लेख गर्नुभएको नेपालस्थित चीनको दूतावासले उल्लेख गरेको छ। 

साथै बेल्ट एन्ड रोड अवधारणाअनुसार संयुक्त विकास निर्माणमा अघि बढ्दै गर्दा कोभिड महामारीको चुनौतीको पनि सामना गरिरहेको राष्ट्रपति सीले बताउनुभएको छ। जसका कारण आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिन प्रतिदिन बढ्दै गइरहेको उल्लेख सन्देशमा गर्नुभएको नेपालका लागि चीनका राजदूत होउ याङ्छीले सार्वजनिक गर्नुभएको छ। 

त्यस्तै चीनका प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश पठाउँदै दुई देश र जनताको हितलाई बढावा दिने चीन सरकारको चाहना रहेको प्रस्ट्याउनुभएको छ। 

उहाँले प्रधानमन्त्री देउवासँग मिलेर रणनीतिक विकासलाई जोड दिँदै पारस्परिक सम्बन्धलाई अघि बढाउन सकिने उल्लेख गर्नुभएको छ। उहाँले सन्देशमार्फत भन्नुभएको छ, “नेपाल–चीन परम्परागत छिमेकी मित्र हुन्, आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको छ।” यस्तो अवस्थामा संयुक्त रूपमा बीआरआईमार्फत दुवै पक्षले विभिन्न क्षेत्रमा सहयोगको आदानप्रदान तथा सहयोगको विस्तार गरिरहेको पनि सन्देशमा बताउनुभएको छ। 

त्यस्तै चीनका राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई टेलिफोन गरेर राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिनुभएको छ।