• ११ मंसिर २०८१, मङ्गलबार

डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि फर्कियो ‘स्काइ ट्रक’

blog

अविनाश चौधरी

धनगढी, असोज ४ गते । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्वीकार गर्नु भएको छ। 

अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाल सरकारको निर्णयमा थप उपचारका लागि उहाँलाई मङ्गलबार काठमाडौं लग्ने प्रयास गरिएको थियो। तर, केसीले काठमाडौं जान नमानेको उहाँका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभयो। 

डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि उहाँलाई लिन आएको नेपाली सेनाको स्काइ ट्रक रित्तै फर्किएको हो। नेपाल सरकारले उहाँलाई लिनका लागि मंगलबार स्काइ ट्रक पठाएको थियो। आमरण अनशरत डा. केसी काठमाडौं जान नमानेपछि स्काइ ट्रक फिर्ता गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। 

‘आर्मीको त्यो स्काइ ट्रक धेरै बेरसम्म कुरिरहने अवस्था रहेन’, उहाँले भन्नुभयो,‘अवस्था क्रिटिकल भए पनि डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि त्यो ट्रक खाली फर्केको छ।’ 

सात बुँदै माग राख्दै डा. केसीले विगत नौ दिनदेखि धनगढीमा आमरण अनशन गरिरहनु भएको छ। सुरुमा कृष्ण मन्दिरस्थित धर्मशालामा अनशन बस्नु भएका उहाँको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो। हाल उहाँको स्वास्थ्य अवस्था जटिल बनेको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लग्नु पर्ने सेती प्रादेशिक अस्पतालले मङ्गलबार जानकारी गराएको छ।