• १२ मंसिर २०८१, बुधबार

वैयक्तिक स्वतन्त्रताको सम्मान गर्न आग्रह

blog

काठमाडौँ, असोज ३ गते । राष्ट्रिय मानव अधिकार आयोगले वैयक्तिक स्वतन्त्रता र गोपनीयताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । निलम्बनमा रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार अदालत जाने तयारीका क्रममा सुरक्षाकर्मीले घरबाट निस्कन नदिएको भन्दै आयोगले आवतजावत गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको हो । 

प्रवक्ता डा. टीकाराम पोखरेलले वक्तव्य जारी गर्दै अवरोध नपु-याउन आग्रह गर्नुभएको हो । आयोगको टोलीले जबराको सरकारी निवास र सर्वोच्चमा स्थलतगत अनुगमन गरेको थियो । 

आयोगको वक्तव्यमा भनिएको छ, ‘‘राणाको निवासमा आवतजावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारीसाधन चेकजाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको छ । आयोगको टोलीले त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरेको भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ ।’’

जबराविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि आइतबार अदालत फर्कने तयारी गर्नुभएको थियो । महाभियोग सिफारिस समितिले बहुमतका आधारमा जबरामाथि महाभियोग लाग्ने सङ्क्षिप्त प्रतिवेदन शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । 

तर अन्य प्रक्रिया भने अघि बढ्ने अवस्था नभएपछि जबराले अदालत फर्कन खोज्नुभएको थियो । जबरा अदालत फर्कने सम्भावित घटनाक्रमलाई हेरेर उहाँको सुरक्षाकर्मी सरकारले फिर्ता गरेको थियो भने सर्वोच्च अदालत परिसरमा पनि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । जबरालाई रोक्न भन्दै बार पदाधिकारीको टोली कार्यालय समय अगावै सर्वोच्चको गेटमा पुगेको थियो ।