• ११ मंसिर २०८१, मङ्गलबार

किसानलाई परिचयपत्र दिने तयारी

blog

काठमाडौँ, असोज २ गते  । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरण गरी परिचयपत्र वितरणको गृहकार्य सुरु गरेको छ । 

हालसम्म सूचीकृत भइसकेका सात लाख ६५ हजार किसानलाई वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने गृहकार्य सुरु भएको कृषि मन्त्रालयका उपसचिव तथा किसान सूचीकरण कार्यक्रमका प्रमुख शिवनन्दन साहले जानकारी दिनुभयो । 

दशैँपछि किसान वर्गीकरणको कामलाई अगाडि बढाउने गरी गृहकार्य भइरहेको उहाँले बताउनुभयो । वर्गीकरण भइसकेपछि सरकार तथा अन्य निकायबाट किसानलाई दिइने सेवासुविधा परिचयपत्रका आधारमा नै उपलब्ध गराइने उहाँले बताउनुभयो । 

कतिपय सङ्घसंस्थाले आफ्नै हिसाबमा किसान वर्गीकरण गरी परिचयपत्रसमेत वितरण गरेका छन् । 

राष्ट्रिय कृषक समूह महासङ्घले कञ्चनपुरको कृष्णपुर नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा किसान वर्गीकरण गरी परिचयपत्र वितरण गरेको छ । यसलाई सरकारको मापदण्डभित्र ल्याउन केही सुधार गर्नुपर्ने आवश्यकता रहेको उपसचिव साहले बताउनुभयो ।

महासङ्घका अध्यक्ष नवराज बस्नेतले कृषि मन्त्रालय र आफूहरूले गरेको किसान सूचीकरणमा खासै फरक नरहेको बताउनुभयो । 

“यो किसान वर्गीकरणको काम गर्नुअघि कृषि मन्त्रालयसँग पनि छलफल भएको हो । कृषि मन्त्रालयसँग सल्लाह गरेर नै यो कामलाई अगाडि बढाएको हो,” उहाँले भन्नुभयो । नेपालमा ४२ लाख घरपरिवार किसान छन् । यस आधारमा अहिलेसम्म थोरै मात्र किसान सूचीकृत भएका छन् ।