• १२ मंसिर २०८१, बुधबार

बाढीपीडितको सहयोग र उद्धारका लागि कांग्रेस नेत्री देउवाको अपिल

blog

नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा । फाइल तस्बिर

काठमाडौं, असोज १ गते । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गर्नुभएको छ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. देउवाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। 

साथै उहाँले पहिरोमा परेर घाइते भएकाको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्नुभएको छ। पहिरोमा ज्यान गुमाउनेका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उहाँले आग्रह गर्नुभएको छ।

त्यसैगरी डा. देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रमका लागि पीडितलाई सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ।

वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यान्वयन गर्न उहाँले सरकारसँग अनुरोध गर्नुभएको छ।रासस