• १० मंसिर २०८१, सोमबार

एन.आर. कलेजको १६ औं वार्षिकोत्सव

उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता

blog

काठमाडौं, भदौ ३० गते । तारकेश्वर नगरपालिका वडा ११ नेपालटारमा रहेको एन.आर. कलेजले विभिन्न कार्यक्रमका साथ १६ औं वार्षिकोत्सव मनाएको छ ।



कलेज सञ्चालक समितिका अध्यक्ष चित्रध्वजवर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख राजिप धितालले अबको दुई वर्षको अवधिमा कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)  मापदण्डमा जाने प्रक्रियामा कलेज अगाडि बढिरहेको जानकारी दिनुभयो।


उहाँले कलेजले भौतिक पूर्वाधारको विकासमा उल्लेख्य प्रगति भए तापनि विद्यार्थीको चापलाई मध्यनजर गर्दा अझै पर्याप्त नभएको तथा विगत वर्षमा कोरोनाका कारण पठन–पाठनमा समस्या आएको भए तापनि अबका वर्षहरुमा शैक्षिक गुणस्तर सुधारमा जोड दिइने जानकारी दिनुभयो ।


तानपा ११ वडा अध्यक्ष कविराज बस्नेतले कलेजको भौतिक विकासमा नगरपालिकाको तर्फबाट सहयोगको प्रतिबद्धता जनाउनु भयो। कार्यक्रममा पूर्व क्याम्पस प्रमुख धनलाल महर्जन, अध्यापक तथा विद्यार्थी प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी हुनुभएका विद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।



त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६३ भदौ ३० गते स्थापना भएको कलेजमा हाल व्यवस्थापन, शिक्षाशास्त्र तथा मानविकी सङ्काय अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ । कार्यक्रममा ‘एन.आर. आवाज’ स्मारिका विमोचन गरिएको थियो ।