• १३ साउन २०८१, आइतबार

दुईवटा निर्माण कम्पनी कालोसूचीमा

blog

दश वर्षदेखि रानीघाटस्थित भेरी नदीमा अलपत्र पुल

नविन सुवेदी

सुर्खेत, भदौ ३० गते । सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीको सम्झौता तोडेको छ । खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता तोडेको हो ।

पुल निर्माणको जिम्मा लिएको पप्पु/मल्ल जेभी तथा कर्णाली राजमार्गमा पर्ने दैलेखको जाक्सी खोला पुल निर्माणको जिम्मा लिएको सिरुवा/कबिर/सुनकोसी जेभी काठमाडौंसँग ठेक्का सम्झौता तोडेको हो ।

सडक डिभिजन सुर्खेतका सूचना अधिकारी इन्जिनियर तुलाराम शर्माले सम्झौताअनुसार म्याद थप भइसक्दा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदिने, पटक–पटक ताकेता गर्दा अटेरी गरी निर्माण कार्यलाई अलपत्र पारेकाले ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, ५९, को उपदफा सात र ठेक्का सम्झौतामा भएको व्यवस्था बमोजिम ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको छ । 

रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माण नहुँदा बराहताल गाउँपालिकाका चार वडाका साथै बर्दिया, कैलालीलगायतका जिल्लाहरूबाट वीरेन्द्रनगर आउन सास्ती भोग्नुपरेको छ ।

बर्दिया–सुर्खेत जोड्ने यो छोटो दुरी हो । तर यहाँ पुल नहुँदा बर्दियाबाट कोहलपुर–बबई–छिन्नु हुँदै लामो दुरी पार गरी सुर्खेत आउनुपर्ने बाध्यता छ ।

सडक डिभिजन सुर्खेत र पप्पु/मल्ल जेभीबीच विसं २०६९ असार २९ गते रानीघाट पुल निर्माण सम्झौता भएको थियो । रुपियाँ १४ करोड २९ लाख ८९ हजार लागत रहेको उक्त पुल निर्माणको सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने कम्पनीले कार्यादेश पाएको थियो । कम्पनीले तीन वटा पिलर उठाएर निर्माण कार्य अलपत्र छाडेको थियो ।