• १३ साउन २०८१, आइतबार

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

blog

विहीबार बिहान बेथान चोक गाउँपालिका– ४ चलाल गणेश स्थानमा गएको पहिरोका कारण क्षति भएको स्थानीय ठुलीमायाँ तामाङको घर साथमा घटनास्थलमा जम्मा भएका स्थानीयवासी । तस्विर सौजन्य: देवराज केसी

काभ्रेपलान्चोक, भदौ ३० गते । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिहीबार बिहान  करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उहाँका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले ठुलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पताल बनेपा र निर बहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो । उहाँले पहिरोका कारण ठुलीमायाँको घरमा रहेका केही बाख्रा समेत पुरिएको बताउनुभयो । पहिरोले घरसँगै रहेको चलालगणेशस्थान रोडा ढुङ्गा खानीका दुई वटा एक्स्काभेटर समेत परिएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा निरबहादुर र सावित्रीको शव निकालिएको हो । 

वडा अध्यक्ष कृष्णबहादुर तामाङले घरसँगै रहेको ढुङ्गा खानीमा दिउँसो एक्स्काभेटर लगाएर ढुङ्गा निकाल्ने काम गरिएको र राती परेको पानीका कारण जमिन गलेर खानीसँगै रहेको घरको माथिबाट पहिरो आएको बताउनुभयो । उहाँले खानीकै कारण पहिरो गई तामाङको परिवारको निधन भएको बताउनुभयो । 

Author

केदार तिमल्सिना