• १२ असार २०८१, बुधबार

स्वास्थ्य सेवा सुधार्ने प्रतिबद्धता

blog

अछाम समाचारदाता

अछाम, भदौ ३० गते  । अत्यावश्यक आधारभूत स्वास्थ्य सेवामा सुधार ल्याउन अभियानकै रूपमा कार्यक्रम लैजान अछाममा सातबुँदे प्रतिबद्धता गरिएको छ। 

जनप्रतिनिधि, सरकारी, सामाजिक क्षेत्रमा संलग्न व्यक्तिले तोकिएका स्वास्थ्य सेवा सेवाग्राहीमैत्री बनाएर सहजै प्रदान गर्नका लागि प्रतिबद्धता जाहेर गरिएको छ। 

सबै बालबालिकाले खोप पाएको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चितता घोषणा गर्ने, तोकिएको मापदण्ड पूरा गरेर चारवटा वडा र स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने प्रतिबद्धता गरिएको छ। सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवा, किशोरकिशोरीको यौन तथा प्रजननलाई सेवाग्राहीमैत्री बनाएर गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता गरिएको छ। क्षयरोगविरुद्धको अभियान गरेर कुनै दुई स्थानीय तह क्षयरोगमुक्त पालिका घोषणा, ज्वरो आएर स्वास्थ्य संस्था आएका सबै बिरामी र गाउँमा रहेका केही व्यक्तिको औलो परीक्षण गरेर निगरानीमा राख्ने प्रतिबद्धता छ। एचआईभी सङ्क्रमितलाई दिइँदै आएको एआरटी सेवा हरेक स्थानीय तहको एक स्वास्थ्य संस्थाबाट उक्त सेवा प्रदान गर्नमा समेत प्रतिबद्धता गरिएको छ। 

स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकाय, दसवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सामाजिक सङ्घ संस्था र नागरिक समाजमा संलग्न व्यक्तिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ। “जिल्लामा धेरै स्वास्थ्य समस्यामा काम गर्नु त छँदै छ तर हाललाई सातवटा प्रतिबद्धता गरिएको छ, जसले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्छ।” स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले भन्नुभयो। 

मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय अभावमा स्वास्थ्य क्षेत्रमा अपेक्षित सफलता पाउन नसकेको भनाइ छ। सातबुँदे प्रतिबद्धताअघि आर्थिक वर्षमा २०७८÷७९ को एक वर्षको अवधिमा गरिएका काम र प्रगतिबारे दसवटै स्थानीय तह, दुईवटा अस्पताल र स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाले आ–आफ्नो प्रगति प्रस्तुत गरेका थिए। स्वास्थ्य क्षेत्रमा सहयोग गरेको भन्दै दसवटै स्थानीय तह, दुई अस्पताललाई स्वास्थ्य कार्यालयले सम्मान गरेको छ।