काठमाडौं, भदौ २९ गते । महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्व प्रधानन्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका पूर्व प्रधानन्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरुलाई बोलाउने निर्णय गरेको हो ।
समितिको बैठकपछि बोल्नुहुँदै महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले समितिले अहिले को–कसलाई बोलाउने भनेर नाम सङ्कलन गरिरहेको बताउनुभयो । उहाँले बिहीबार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्व प्रधानन्यायाधीशहरूलाई बोलाउने समय निर्धारण गर्ने जानकारी दिनुभयो ।
प्रवक्ता गौतमले भन्नुभयो, ‘‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानून व्यवसायीहरूलाई स्पष्टीकरणका लागि बोलाउने भएको छ । बयानमा जसको नाम लिनुभएको छ, ती कुरालाई हेरेर त्यसको नाम हामी सङ्कलन गर्दैछौं । ती व्यक्तिहरूलाई बोलाउने समितिले निर्णय गरेको छ । बार पदाधिकारी, अधिवक्ता लगायत केही व्यक्तिहरूलाई बोलाउने भन्ने कुरा भएको छ । भोलि विभिन्न समय दिएर, अधिवक्ताहरूको एउटा समय, बार पदाधिकारीको अर्को समय गरेर बोलाउने भन्ने निर्णय भएको छ । पूर्व प्रधानन्यायाधीशहरूलाई अर्को समय छ ।’’
प्रधानन्यायाधीश जबराले न्यायाधीश, प्रधानन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।