लीलाराज खड्का
बिर्तामोड, पुस १ गते । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
आइतबार राती १०.१० बजे दमक नगरपालिका वडा न.१० सेतुमारी चोकनजिक भित्री सडक खण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका वडा न. ८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका वडा न.५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई घाइते भएका थिए ।
उपचारको लागि तीनै जनालाई दमक अस्पताल दमक पठाएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा राति ११ः३५ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ अन्दाजी ७ बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर–१० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्याक्टर रोकिराखेको अवस्थामा सोही पूर्व दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडिको भागमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर–५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बू र सोही मोटरसाइकलमा पछाडि सवार दमक नगरपालिका वडा नम्बर–५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएका थिए ।
घाइते दुबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ७ः२० बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिनुभयो । सो ट्याक्टर एसियन हाइवे निर्माणका लागि ल्याइएको कालिका कन्स्ट्रक्सनको भएको र ट्याक्टर चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।