• ११ पुस २०८२, शुक्रबार

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

blog

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोषमा ।

काठमाडौँ, पुस ११ गते । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गर्नुभएको छ ।

उहाँले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा दशकौँदेखि वन्यजन्तु संरक्षण र प्राकृतिक पारिस्थितिक प्रणालीको पुनःस्थापनामा एनटिएनसीले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो ।

मन्त्री चौलागाईंले एनटिएनसीका संरक्षण प्रयासको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा संस्थाले अघि सारेका संरक्षण लक्ष्यमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 उहाँले नेपाललाई विश्वस्तरमा प्रकृति संरक्षणको अग्रणी मुलुकका रूपमा स्थापित गर्न एनटिएनसीको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

उक्त अवसरमा एनटिएनसीका सदस्य सचिव डा.नरेश सुवेदीले संस्थाले सञ्चालन गरिरहेका वन्यजन्तु संरक्षण कार्यक्रम तथा प्राकृतिक सम्पदा क्षेत्रहरूको संरक्षणसम्बन्धी गतिविधिबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

उहाँले समुदायको सक्रिय सहभागितामार्फत स्थानीय जीविकोपार्जन र प्रकृति संरक्षणबीचको दूरी घटाउने उद्देश्यले अपनाइएका समुदाय–आधारित संरक्षण मोडेल प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको बताउनुभयो ।

एनटिएनसीले संरक्षणका साझा लक्ष्य हासिल गर्न मन्त्रालयसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरेको छ । रासस