• १ पुस २०८१, सोमबार

पहिले हुन्थ्यो हारालुछ अहिले बिक्नै छाड्यो

blog

कविराज घिमिरे

हिले, पुस १ गते । धनकुटाको सहिदभूमि गाउँपालिका–४ का पृथुराम राईले केही वर्षअघिसम्म आफ्नो बारीको सुन्तला बर्सेनि चार लाख रुपियाँभन्दा बढी मूल्यमा बिक्री गर्दै आउनुभएको थियो । करिब पाँच रोपनीमा रहेको सुन्तला खरिदका लागि हारालुछ हुन्थ्यो । जसले बढी मूल्य हाल्थ्यो, उसैले सुन्तला पाउँथ्यो । 

उहाँको सुन्तला हारालुछ हुनुको कारण सबैभन्दा रसिलो र गुलियो सुन्तला फल्नु नै हो तर अहिले सोही स्थानको सुन्तला बिक्री नै हुन छाडेको छ । अहिले सुन्तला बिक्री हुन छाड्नु कारण खोकुमा पहिलेको जस्तो सुन्तलाको गुणस्तर नहुनु हो । 

खोकुमा पहिले जस्तो ठुला, गुलिया र रसिला सुन्तला उत्पादन नहुँदा व्यापारीले बगानका सुन्तला किन्नै छाडेको राई बताउनुहुन्छ । “सबैभन्दा राम्रो सुन्तला भनेर खरिद गर्नेको हारालुछ हुन्थ्यो तर अहिले पहिले जस्तो गुलियो पनि नहुने र स्वाद पनि फरक भएकाले व्यापारी नै गाउँमा पस्नै छाडे,” राई भन्नुहुन्छ । 

पूर्वमा सुन्तलाका लागि खोकुले विशेष पहिचान बनाएको छ । बजारमा यो जात र यहाँको सुन्लताको फल होस् वा बिरुवा माग निकै उच्च छ । यहाँको सुन्तलामा गुलियोपना १४ प्रतिशतसम्म हुने गरेको पाइन्छ । जबकि अन्यत्रको सुन्तलामा मुस्किलले १० प्रतिशत मात्र हुने गरेको छ । 

त्यस्तै यहाँको सुन्तलामा अमिलोपन ज्यादै न्यून अर्थात १.५ प्रतिशत मात्र हुने गरेको राष्ट्रिय सुन्तालाजात अनुसन्धान कार्यक्रम पारिपात्लेले जनाएको छ । 

त्यस्तै सुन्तला पारिलो ठाउँ, बिहानैको घाम, हिमाल तथा ठुलो नदीको हावामा राम्रो हुने र त्यो सबै कुराले खोकु उपयुक्त भएकाले यहाँको सुन्तला रसिलो, गुलियो र स्वादिलो हुने गरेको विज्ञको भनाइ छ तर यो जातको उद्गम स्थल खोकुमा सुन्तलाको गुणस्तर मात्र हैन बगान र उत्पादन नै घट्दो क्रममा छ । 

सुरुमा सुन्तलाको आकार र गुलियो पन घट्दै जाने बोट खुइलिने र पछि बोटै मर्ने गरेको स्थानीय कृषक गोविन्द राई बताउनुहुन्छ । गुणस्तर घट्दै जाँदा अलि अलि भएको सुन्तला बेच्न समस्या हुन थालेको छ । त्यस्तै बगानै मासिन थालेपछि खोकुमा सुन्तलाको क्षेत्रसमेत घट्दो छ । 

२०६५ सालसम्म करिब आठ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको अहिलेको सहिदभूमि गाउँपालिकामा २०८० सालसम्म आइपुग्दा सो क्षेत्र घटेर चार सय हेक्टर क्षेत्रफलमा सीमित भएको गाउँपालिकाको तथ्याङ्क छ । यसको असर सबैभन्दा बढी तत्कालीन खोकु गाविस अर्थात् अहिलेको सहिदभूमि गाउँपालिका–४ र ५ मा परेको पालिकाका कृषि शाखाले जनाएको छ । त्यस्तै वडा नं. २ र ३ मा समेत यसको असर देखिन थालको छ । 

यी वडा सहिदभूमि गाउँपालिकाका मुख्य सुन्तला उत्पादन हुने क्षेत्र हुन् । अन्य स्थानको भन्दा फरक रसिलो स्वादिलो हुनु, राम्रो फल्नु तथा बर्सौंअघिदेखि खेती भएका कारण राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेले गत वर्ष ‘खोकु स्थानीय’ जातको सुन्तला कृषकका लागि सिफारिस गरेको छ । 

पछिल्लो समय खडेरी तथा जलवायु परिवर्तनको असरका कारण यहाँको सुन्तलामा विभिन्न समस्या देखिन थालेको विज्ञको भनाइ छ । लामो समयसम्म राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्रमा रहेर यो जातबारे अनुसन्धान गर्नुभएका कृषि वैज्ञानिक उमेश आचार्य खडेरी र जलवायु परिवर्तनको असर खोकु जातको उद्गमस्थल खोकुको सुन्तलामा परेको बताउनुहुन्छ । 

“यो सुन्तलाका लागि उपयुक्त र उर्वर भूमि हो तर पछिल्लो समय खडेरी र जलवायु परिवर्तनको असरले विभिन्न रोग, किराको प्रकोप बढेर समस्या आएको हो,” आचार्य भन्नुहुन्छ । सिट्रस सिल्ला नामक एक प्रकारको किराले एउटा सुन्तलाबाट अर्को सुन्तलामा ग्रिनिङ भाइरस सार्दै जाने र उक्त रोगले बिस्तारै बोटै मार्ने उहाँको भनाइ छ ।

खोकुमा सुन्तला खेती कहिलेबाट सुरु भयो भनेर अनुमान गर्नसमेत निकै मुस्किल छ । अहिले पनि एक सय वर्षमाथिका धेरै सुन्तलाको बोट देख्न पाइन्छ । धनकुटामा सुन्तलाको उत्पादन र बिक्रीवितरणको सुरुवात खोकुबाटै भएको मानिन्छ । खोकुका स्थानीय छत्रबहादुर राई आफ्ना बुवा, हजुरबुवाकै पालादेखि खोकुले सुन्तला बेच्दै आएको बताउनुहुन्छ । यहाँको सुन्तला सडक विस्तार नहुँदासमेत बोकेर धरान लगेर बेच्ने गरिएको थियो । 

यहाँबाट सुन्तला लिएर जाने गरेको अनि धरानमा सुन्तला बिक्री गरेर खाद्यान्नलगायत अन्य सामग्री किनेर ल्याउने गरेको उहाँ बताउनुहुन्छ । यो क्रम करिब एक सय वर्षपहिलेदेखि नै चलेको उहाँको भनाइ छ । पछि बिस्तारै गाउँमै व्यापारी आएर खरिद गरेर लैजान थालेका हुन् ।