• २ पुस २०८१, मङ्गलबार

आगलागीले चार कठ्ठाको उखुुबाली जलेर नष्ट

blog

फाइल तस्विर

जनार्जन खत्री

सर्लाही, पुस १ गते । सर्लाहीको चन्द्रनगरमा एक किसानले आफ्नो खेतमा काटिसकेको उखुको पत्कर जलाउँदा सँधियारको काट्न बाँकी रहेको उखुबाली जलेर नष्ट भएको छ । 

सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका –१, का किसान रामकैलाश महतोले वडा ४ मा रहेको आफ्नो खेतमा चिनी मिलमा लगेर बेचिसकेको उखुको पत्कर अर्थात् पात जलाइरहँदा छिमेकीको उखु बालीमा आगो सल्किएर क्षति पुुगेको हो । आगलागीबाट सँधियार चन्द्रनगर गाउँपालिका –५, बस्ने गङ्गी राय महतोको चार कठ्ठाको उखु जलेको प्रहरी चौकी मोहनपुरले जनाएको छ । 

चिनी मिलमा लगेर बेच्ने बेला भएको उखुुबाली आगलागीमा परेर जलेपछि गङ्गी राय महतोको परिवार चिन्तित भएको छ । केही साताअघि हरिपुर नगरपालिका –१, जानकीनगरमा पनि आगलागीमा परेर १० कठ्ठा खेतमा लगाएको उखुबाली सखाप भएको थियो ।