• १ पुस २०८१, सोमबार

गाई सुत्केरी भए अनुदान

blog

तम्घास समाचारदाता

तम्घास, पुस १ गते । गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्रका गाई सुत्केरी भएमा १० हजार रुपियाँ अनुदान दिने भएको छ ।

पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक सुत्केरी भएको बाच्छी हुनुपर्ने छ । उक्त बाच्छी सुत्केरी भएमा गाईपालक कृषकलाई १० हजार रुपियाँ अनुदान दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको गाई पहिलो पटक सुत्केरी भएमा १० हजार रुपियाँ अनुदानस्वरूप कृषकलाई प्रदान गरिने छ । उक्त अनुदान लिनका लागि आफूले पालेको कोरेली गाई असोज ५ गतेसम्म बाली लागेको जानकारी पालिकाको पशुपन्छी विकास शाखालाई जानकारी गराएको हुनुपर्ने छ ।

अनुदान लिनका लागि निवेदन, तीन जना छिमेकीको मुचुल्का, वडा कार्यालयको सिफारिस, माउँ र बच्चा स्पष्ट देखिने फोटो र भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्टको आधारमा कृषकको बैङ्क खातामा सिधै रकम भुक्तानी गरिने भुसालले बताउनुभयो ।

सत्यवती गाउँपालिकामा १२ वटा समूहका २०२ जना कृषकले मासिक ३३ हजार लिटर दुध बिक्री गर्ने गरेको पशुसेवा शाखाका प्रमुख नारायण खनालले जानकारी दिनुभयो । दुग्ध उत्पादक कृषकलाई तालिम, उपकरणलगायतका सामग्री वितरण गर्दै आएको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले पालिकाले व्यावसायिक रूपमा कृषि र पशुपालन गर्नेलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । कृषि र पशुपालनको माध्यमबाटै आत्मनिर्भर बन्न सकिने भएकाले व्यावसायिक रूपमा लाग्नका लागि कृषकलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ ।