• १४ वैशाख २०८१, शुक्रबार

बजारमा कुहिएको माछा विक्री वितरण

blog

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २९ गते । झापाको बिर्तामोडमा भारतबाट मरेका माछाहरू ल्याएर बिक्री गर्ने गरेको पाइएको छ । चाडपर्वको समयमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजार अनुगमन गर्दा यस्तो पाइएको हो । 

मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्‍याउन सक्छ । अनुगमनका क्रममा केही पसलमा मरेका माछा बिक्री गरिरहेको पाइएकाले त्यस्ता माछा नष्ट गरेका छौ, न्यौपानेले भन्नुभयो । माछा बिक्री गर्दै आएका व्यापारीहरूलाई माछाको बिल माग्दा दिन नसकेको र व्यापारीहरूले भारतको सिलगुढीबाट माछा ल्याएको स्वीकार गरेका छन् । 

स्वास्थ्यकर्मीहरूका अनुसार फर्मालिन भनेको लासलाई सड्न नदिन प्रयोग गरिने केमिकल हो । यसबाट मानोडिहाड भन्ने ग्यास उत्पन्न हुन्छ । यो ग्यास मानव शरीरका लागि अत्यन्तै घातक छ । यस्तो जान्दाजान्दै पनि बजारमा लापरबाही भइरहेको र बारम्बार आफूहरूले बजार अनुगमनको माग गरेको नेपाली उपभोक्ता संरक्षण महासङ्घका प्रदेश १ अध्यक्ष नारायण योङहाङले बताउनुभयो ।

यसैबीच बिर्तामोड नगरपालिकाले अव्यवस्थित र अस्वस्थकर मासु पसल भएको भेटिएपछि मासु पसलहरूलाई मापदण्ड पालना गर्नका लागि अनिवार्य दर्तामा आउन निर्देशन दिएको छ । नगरपालिका भित्रका माछा, मासु पसल अनुगमन गर्दा कानुन बमोजिम न्यूनतम मापदण्ड पुरा नगरी सञ्चालन गरेको पाइएको हुँदा १५ दिन भित्र तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन गरिएको पाइएको छ ।

मापदण्ड अनुसार सञ्चालन नभएको भेटिएमा समानहरू जफत साथै आवश्यक कारबाही गरिने बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कमार न्यौपानेले बताउनु भएको छ । मासु पसल तथा फ्रेसहासहरुले अपनाउनु पर्ने न्यूनतम मापदण्डहरू समेत नगरपालिकाले सार्वजनिक गरेको छ । 

मासु पसल तथा फ्रेस हाउसको नाम, प्रोप्राइटरकाे नाम, प्रोप्राइटर सम्पर्क, मासुको किसिम, नगरपालिकाबाट अनुमति (इजाजत) पत्र देखिने ठाउँमा राखिनुपर्ने छ । यसैगरी खुल्ला रूपमा मासु बिक्री गर्न पनि नगरपालिकाले रोक लगाएको छ । विक्री गर्ने ठाउँमा कुनै पनि पशु वध गर्न नपाइने भनेका छौ, न्यौपानेले जनाउनु भयो ।

मासु बिक्री वितरण गरिने पशुको स्वास्थ्य परीक्षण गरेर मात्र वध गर्नुपर्ने, मासु बिक्री वितरण गर्दा निस्कने फोहोरमैला तथा पानीको उचित व्यवस्थापन गर्नु पर्ने, मासु भण्डारणका लिग डिपफ्रिजको व्यवस्था गर्नु पर्ने, बिक्री वितरण गर्ने व्यक्तिले मास्क, टोपी तथा एप्रोन अनिवार्य लगाउनु पर्ने, एउटा फ्रिजमा एकै प्रकारका मासु मात्र राखिनु पर्ने, मासु पसल तथा फ्रेस हाउस सञ्चालन गर्दा सडकबाट ५० मिटर बाहिर गर्नु पर्नेछ ।