• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

blog

ढल्केबर समाचारदाता

ढल्केबर, भदौ २९ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन सुरु गरेको छ। जिल्लाको १८ वटा स्थानीय तहमध्ये १६ वटामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो। 

मिथिला, गणेशमान, विदेहलगायत स्थानीय तहमा विवरण सङ्कलन सुरु गरिएको र बाँकी रहेको दुईवटा स्थानीय तहमा पनि छिट्टै कर्मचारी खटाइने उहाँले जानकारी दिनुभयो। कम्प्युटरमा समस्या देखिएको र दुरुस्त हुनेबित्तिकै पठाइने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो। स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एक जना कर्मचारी खटाइएको छ। सो स्थानबाट फाराम भर्ने, भौचर बुझ्ने कार्य भइरहेको छ। 

ई–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा राष्ट्रिय परिचयपत्रकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको उहाँले जानकारी दिनुभयो। यस्तै गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख तेजनारायण यादवले यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाबाट मात्रै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुँदै आएकोमा अब आफ्नै गाउँमा विवरण सङ्कलन केन्द्र खुलेपछि जनतालाई सुविधा पुग्ने बताउनुभयो। राष्ट्रिय परिचयपत्रकै आधारमा जनतालाई सेवा सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।