• ११ मंसिर २०८१, मङ्गलबार

शीत भण्डारमा राख्न कृषि उपजकै अभाव

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ २९ गते । पछिल्लो समय कोल्ड स्टोर (शीत भण्डार) निर्माण तीव्र रूपमा भइरहे पनि भण्डारणका लागि आवश्यक कृषि उत्पादनको भने अभाव देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले आव २०७८/७९ मा देशैभरिका शीत भण्डारबारे गरेको अध्ययनले शीत भण्डारमा राख्ने कृषिजन्य वस्तुको कमी रहेको औँल्याएको हो । 

देशभर साना–ठूला गरी ५० वटा शीत भण्डार छन् तर ती कुनै पनि पूर्ण क्षमतामा सञ्चालन नभएको अध्ययनले देखाएको छ । ती कोल्ड स्टोर ६० देखि ७० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको पाइएको हो । 

पाँच सय मेट्रिक टनदेखि १८ हजार मेट्रिक टन क्षमताका कोल्ड स्टोर बनेका छन् । ती कोल्ड स्टोरबाट करिब एक लाख किसान तथा व्यापारी लाभान्वित भएको विभागद्वारा गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

ती सबै कोल्ड स्टोर पूर्ण क्षमतामा सञ्चालन भएको भए डेढ लाख मेट्रिक टनभन्दा बढी कृषि उपज राख्न सकिन्थ्यो तर सबै मिलाएर मुस्किलले ७०–८० हजार मेट्रिक टन मात्र भण्डारण हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । पूर्ण क्षमतामा सञ्चालनमा नभएको कारण कोल्ड स्टोर सञ्चालकलाई आफ्नो लागत उठाउनसमेत समस्या भइरहेको छ । 

प्रतिवेदनअनुसार औसत दुई हजारदेखि तीन हजार मेट्रिक टन क्षमता भएका कोल्ड स्टोर सञ्चालकले वार्षिक ६० लाखदेखि एक करोड रुपियाँसम्मको आम्दानी गरेको देखिन्छ । 

यीमध्ये केही शीत भण्डार निजी लगानीमा सञ्चालनमा आएका हुन् भने केही सरकारी अनुदान सहयोगमा सञ्चालन गरेका छन् । तर, सबै कोल्ड स्टोरले सरकारबाट विद्युत् महसुलमा ५० प्रतिशत अनुदान पाएका छन् । 

विभागले गरेको अध्ययनअनुसार पूर्ण क्षमतामा कोल्ड स्टोर सञ्चालन नभएकाले यदि सरकारले विद्युत् महसुलमा ५० प्रतिशत छुट नदिएको भए थुप्रै कोल्ड स्टोर बन्द भइसकेका हुन्थे । ती कोल्ड स्टोरले मासिक एक लाखदेखि १७ लाख रुपियाँसम्म विद्युत् खपत गर्ने गरेका छन् । सबभन्दा कम क्षमता (पाँच सय मेट्रिक टन) भएको स्वर्गद्वारी कोल्ड स्टोरले मासिक ८०–९० हजार रुपियाँको विद्युत् खपत गरेको छ भने सबभन्दा ठूलो क्षमता (१८ हजार मेट्रिक टन) भएको कोहीनूर कोल्ड स्टोरले मासिक १७ लाख रुपियाँको विद्युत् खपत गरेको छ । 

ती अधिकांश कोल्ड स्टोरमा आलु भण्डारण हुने गरेका छन् । त्यसबाहेक थोरै मात्रामा हरियो तरकारी, फलफूल, माछा, मासु, घिउ, दुग्धजन्य पदार्थ, बीउबिजन भण्डारण हुने गरेको छ । आलु उत्पादनको समयमा कोल्ड स्टोर केही भरिएको देखिए पनि अन्य बेला खाली नै हुने गरेको अध्ययनले देखाएको छ । 

फागुन–चैत र असोज–कात्तिकसम्म आलु भण्डार गर्ने समय हो । त्यसबाहेकका समयमा अधिकांश कोल्ड स्टोर प्रायः खाली नै हुन्छन् । त्यसैले नयाँ कोल्ड स्टोर निर्माण गर्दा स्थानीय कृषि उत्पादनको अवस्था यकिन गरेर मात्र योजना अघि बढाउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।