• १४ वैशाख २०८१, शुक्रबार

नवौं राष्ट्रिय खेलकुद क्रिकेट

कर्णाली प्रदेशको पहिलो जित

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ २८ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलमा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा मङ्गलबर भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई तीन रनले हरायो ।

कर्णालीले दिएको एक सय १५ रनको विजय लक्ष्य पछ्याएको मधेस प्रदेश निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रनमा समेटिएको थियो । मधेसका लागि हरिशंकर शाहले ४८ रन बनाउनुभयो ।

राकेश कामतले अविजित १९ र रोहन विकले १० रन बनाउनुभयो । बलिङमा कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिनुभयो । दिवान पुन र रविन्द्रजंग शाहीले दुई दुई विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । कर्णालीका लागि विपिन रावलले २४ रन बनाउनुभयो । प्रकाश जैशीले १९, दिनेश अधिकारीले १५ र कप्तान रविन्द्रजंग शाहीले १० रन बनाउनुभयो ।

बलिङमा मधेसका आदिल आलमले पाँच विकेट लिनुभयो । हरिशंकर शाहले दुई विकेट झार्नुभयो । समूह ‘ए’ मा पहिलो जितसँगै चार खेलबाट पाँच अङ्क बनाएको कर्णाली दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलबाट तीन अङ्क बनाएको मभेश चौथो स्थानमा छ । मधेस प्रतियोगिताबाट बाहिरिएको छ । 

यसैबीच मूलपानी क्रिकेट मैदानमा मङ्गलबारका लागि तय भएको समूह ‘ए’ कै नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीचको खेल रद्द भएको छ । वर्षाका कारण मैदान चिसो भएकोले खेल रद्द भएको हो ।

मूलपानीका लगातार रद्द भएको यो १०औँ खेल हो । खेल रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । यससँगै चार खेलबाट ६ अङ्क बनाएको पुलिस शीर्षस्थानमा छ । समान खेलबाट चार अङ्क बनाएको गण्डकी समूहको तेस्रो स्थानमा छ ।

नवौँ खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुँदैछ । तर त्यस समयमा नेपाल टी–२० लिग हुने भएकोले पुरुष क्रिकेट अगाडि नै आयोजना गरिएको हो । नवौँको क्रिकेटमा सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टोलीको सहभागिता रहेको छ । 

एउटै खेल नखेली बाहिरिनुको पिडा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहिबार देखि सुरु भएको क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई उपाधिको दावेदार मानिएको थियो । पूर्व कप्तान पारस खड्काको ब्यवस्थापनमा रहेको टोलीका कप्तानमा ज्ञानेन्द्र मल्ल हुनुहुन्थ्यो

तर वर्षका कारण अधिकांश खेल रद्द भए । मुलपानी क्रिकेट मैदानमा अहिले सम्म कुनै खेल भएको छैन । कीर्तिपुरमा पनि तीन खेलमात्र २० ओभरको सम्भव भएको छ । नत्र सबै खेल रद्द  वा कम ओभरमा सकिएको छ । अहिलेसम्म समूह चरणका १५ खेल रद्द  भइसकेका छन् ।

यस्तो अवस्थामा उपाधिको दावेदार मानिएको बागमती प्रदेश समूह ‘बी’मा एउटै खेल नखेली प्रतियोगिताबाट बाहिरिएको हो । तयारी राम्रो गरेपनि वर्षाका कारण खेल्न नपाउँदा चार खेलबाट बागमतीले चार नै अंक बनायो । खेल रद्द भएर बागमती बाहिरिएपछि क्रिकेटको विषयमा पुनर्विचार गरिनु पर्ने माग गरिएको छ ।

बागमती प्रदेश खेलकुद परिषद्‌का सदस्यसचिव सूर्य भण्डारीले खेल्दै नखेली प्रतियोगिातबाट बाहिरिनु उचित नभएको बताउनु भएको छ । उहाँले खेल पुनः सञ्चालन गरिनु पर्ने माग समेत गर्नुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भने रद्द भएका खेल फेरि खेलाउने पक्षमा देखिएको छैन ।