• ११ मंसिर २०८१, मङ्गलबार

सेयरधनीसँग बाँकी रकम माग

blog

काठमाडौँ, भदौ २८ गते । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम माग गरेको छ । 

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक सो कम्पनीले आगामी असोज ४ गतेदेखि बाँकी रकम सङ्कलन गर्ने भएको हो । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । 

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता सेयर निष्कासन गरेको थियो । त्यस बेला प्रतिसेयर एक सय रुपियाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपियाँ मात्र सङ्कलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रुपियाँ बुझाएका एक लाख ५४ हजार ५५९ सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपियाँ बुझाउनुपर्ने कम्पनीका प्रवन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधानबमोजिम सेयरधनीले प्रतिकित्ता तीन रुपियाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपियाँ मात्र जम्मा गरे हुनेछ ।