• १२ वैशाख २०८१, बुधबार

चार महिनादेखि यातायात ठप्प

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ २८ गते । सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। 

यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्। 

लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिकको सिङ्गो नारायण खोला गाविसबाट पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ। गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका बासिन्दा लालबन्दी बजारसम्म आउन चार/पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ। 

पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पुलगायतका अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न चार घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको नारायण खोलाको पन्ध्र बिघा गाउँका लालबहादुर पाख्रिनले बताउनुभयो। चुरे भेगमा दिनहुँजसो वर्षा भइरहेकाले खोला बाढी आउँदा बजार भर्नका लागि पत्थरकोटसम्म पैदल हिँडेर आउनसमेत समस्या भइरहेको उहाँले गुनासो गर्नुभयो। 

निरन्तर वर्षा भएर जमिन हिलो भएकाले स्थानीय किसानले कोदो, मकैलगायतका बाली लगाउन नपाएका पाख्रिनले जानकारी दिनुभयो। नारायण खोलासहित चुरेभेगमा सोमबार दिउँसो मात्रै पनि भारी वर्षा भएको छ। गाडी नचल्दा स्थानीयलाई बिरामी पर्दा लालबन्दीसम्म औषधि उपचारका लागि आउन गाह्रोपर्ने गरेको छ। खोला बाढीले गर्दा नारायण खोलासम्म मोटरसाइकलसमेत लिएर जान सक्ने अवस्था नरहेको स्थानीय बताउँछन्। 

नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले यो वर्ष दशैँअघि गाडी चल्ने सम्भावना कम रहेको बताउनुभयो। वडाध्यक्ष घिसिङले दशैँको दुई÷चार दिनअघिसम्म पनि पानी पर्न रोकिए खोलाको बाटो मर्मत गरी बस सञ्चालनको पहल गरिने बताउनुभएको छ। खोलाको बाटो बिग्रिएका कारण चुरेभेगमै पर्ने लालबन्दी नगरपालिका–१५, शीर कालिञ्जोर र ईश्वरपुर नगरपालिका–१२, पीपलदमार क्षेत्रमा पनि गाडी चल्न सकेका छैनन्।