• १६ चैत २०८०, शुक्रबार

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ २७ गते । नेपाल छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको समूह चरणको अन्तिम तथा दोस्रो खेलमा पाहुना टोली श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।

जितसँगै दुई खेलबाट ६ अङ्क बनाएको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । हार सँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘बी’ बाट नेपालसँगै समूह उपविजेताको रूपमा भुटानले पनि सेमिफाइनलमा स्थान बनाएको छ । एकपक्षीय खेलमा पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो । नेपालको जितमा अमिषा कार्कीले दुई गोल गर्नुभयो । रश्मी कुमारी घिसिङ,  सरु लिम्बु, अमृता जैसी र दिपा शाहीले एक एक गोल गर्नुभयो ।

सात टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र बङ्गलादेशले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । मालदिभ्स र पाकिस्तान भने च्याम्पियनसिपबाट बाहिरिइसकेको छ । अब भारत र बंगलादेशबीचको खेलपछि आउने नतिजाले नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुङ्गो लाग्नेछ ।

यसैगरी नेपालकी रक्षक निशा थोकरले श्रीलंकाविरुद्ध राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्नुभएको छ । उहाँ ७५औँ मिनेटमा पुनम मगरको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । घरेलु फुटबलमा एपीएफ क्लबबाट खेल्दै आउनुभएकी निशाले रौतहटबाट फुटबल सिक्नुभएको हो ।