• २६ पुस २०८१, शुक्रबार
blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ २७ गते । विभागीय टोलीको नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो । 

पुलिसले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २८ रनमा समेटियो । लुम्बिनीका लागि बसिर अहमदले अविजित ४६, सौरभ खनालले २४, दीपेन्द्र रावतले अविजित १३ र प्रज्वल थापाले १० रन बनाउनुभयो । बलिङमा पुलिसका ललित राजवंशीले तीन, करण केसीले दुई तथा गुल्सन झाले एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय चार रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ७५ रन बनाउनुभयो । आरिफ शेखले ५०, सुनिल धमलाले ३५ र दिलीप नाथले ३३ रन बनाउनुभयो । 

बलिङमा लुम्बिनीका बसिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत र विशाल विक्रम केसीले एक एक विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको पुलिस शीर्षस्थानमा छ । पुलिसले तीन खेलबाट सात अङ्क बनाएको छ । लुम्बिनीको समान खेलबाट दुई अङ्क छ । 

यसैगरी मुलपानी क्रिकेट मैदानमा तय भएको नेपाल एपीएफ क्लब र बागमती प्रदेशबीचको खेल वर्षाको कारण मैदान चिसो भएकोले रद्द गरिएको छ । खेल रद्द भएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टोलीको सहभागिता रहेको छ ।