• २५ पुस २०८१, बिहिबार

दोर्दी कोरिडोर प्रसारण लाइन सञ्चालनमा

blog

काठमाडौँ, भदौ २७ गते । लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । 

लमजुङको बेँसीसहर नगरपालिकाको उदिपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

१३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रूपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।  

प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस कोरिडोरमा निजी क्षेत्रले निर्माण गरेका चारवटा जलविद्युत् आयोजनाको ७२ मेगावाट विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने भएको छ ।  

दोर्दी कोरिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार उदिपुरबाट दोर्दी खोला–१ जलविद्युत् आयोजनासम्म प्राधिकरणको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरी लाइन सञ्चालनमा ल्याएको हो । “यो लाइन सञ्चालनमा आएपछि कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन,” उहाँले भन्नुभयो । 

गत वर्षको बाढीले क्षति पु¥याएको एउटा टावर निर्माणको अन्तिम चरणमा रहेकाले अहिले दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरिएको हो । निर्माण सम्पन्न भएको प्रसारण लाइनको गत वर्षको असारमा दोर्दी खोलामा आएको बाढीले चारवटा टावर बगाइदिएको थियो । त्यसमध्ये तीनवटा टावर निर्माण सम्पन्न भएको छ भने एउटा अन्तिम चरणमा छ ।

प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिनेछन् । 

दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाहरूको विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनमार्फत उदिपुर सबस्टेसनमा जोडिनेछ । उदिपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युत्गृहको स्विचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभी मस्र्याङ्दी कोरिडोरको करिब छ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ । 

करिब ८५ करोड रुपियाँ लागत रहेको दोर्दी कोरिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेसन निर्माण गरेको हो ।