• ५ जेठ २०८१, शनिबार

ललितपुर महानगरद्वारा मञ्जुश्री पेट्रोल पम्प सिल

blog

पत्रकारहरूसँग कुरा गर्दै महानगर प्रमुख चिरिबाबु महर्जन ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २६ गते । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । पम्प सञ्चालकले सार्वजनिक जग्गामा लामो समयदेखि सो पेट्रोल पम्प सञ्चालन गर्दैआएको र हटाउन पटक–पटक पत्र लेख्दा पनि अटेर गरेकाले पम्प सिल गर्नुपरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

महानगर प्रमुख महर्जनले सो पम्पबारे महानगरको बैठकमा पटक–पटक कुरा उठ्नेगरेको बताउनुभयो । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “यो सार्वजनिक जग्गा हो । पहिला ४० देखि ४२ सालमा पञ्चायतकालमा कसरी मिलाइयो । महानगरले बैठक राखेर धेरै पटक पत्र काटिसक्यो । अहिलेसम्म कार्यान्वयन नगरेकाले बाध्य भयौँ ।”

पेट्रोल पम्प सिल गर्न अहिलेसम्म विधि नपुगेकाले सबै विधि पुर्‍याएर सो काम गरिएको उहाँको भनाइ छ । “हाम्रो कार्यकालमा कोहीसँग पनि केही सम्झौता भएको छैन । विधिसम्मत ढङ्गले काम गर्‍यौँ । यो सँगैको घर पनि अवैध हुन् । मैले आजको दिनलाई प्रस्थान बिन्दुको रूपमा लिएको छु” थप्नुभयो, “अन्य अवैध संरचनाहरू पनि आगामी दिनमा खाली गर्दै लगिनेछ ।” 

कानुनी शासन भएकाले अदालतको मानहानि नगरी अवैध संरचना बनाउनेहरूको हौसला नबढ्ने गरी  यसखाले कामलाई अघि बढाइने प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “चार वर्षको दौरानमा धेरै पत्राचार गर्‍यौँ, नमानेपछि अन्ततः सिलबन्दी गरेपछि उहाँको व्यापार चौपट भयो नि !”