अछाम, पुस ३ गते । मङ्गलवार बिहान ७ बज्नै लागेको बेला पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजार स्थित सुन्तलाबारीमा उमेरले ७० काटेका करिब ५० जना बढी वृद्धवृद्धा जम्मा थिए । बिहान १० बज्दा यो सङ्ख्या एक सय भन्दा बढी पुगेको थियो । नजिकैको माछापुच्छ्रे बैङ्कले भत्ता दिनुभएपछि उहाँहरू त्यो पालो कुर्न बसको बताउनुभयो ।
भत्ता लिन बैङ्क आउनुभएका उहाँहरू १० दिनदेखि यसै गरी जम्मा हुने गरेका छन् । विनायकमा रहेको माछापुच्छ्रे बैङ्कको आन्तरिक समस्याका कारण कारोबार बन्द हुँदा उहाँले आफ्नो खातामा भएको पैसा झिक्न पाएका छैनन् ।
हातमा केही कागजात भएका उहाँहरू मङ्गलवार दिनभर सडक पेटीमै बसेर आँखा नझिम्काई बैङ्कतिर हेरिरहन्थे । बैङ्कबाट पैसा निकालेर आफ्नो गर्जो टार्ने आशामा बैङ्कमा लाइन लाग्ने बृद्धबृद्धाको १० दिन यताको दैनिकी सुन्तलाबारीको सडक पेटीमै बितिरहेको छ । चिसो भुइँमा दिनभर धर्ना बसेर फर्किनेहरू निराश छन् ।
पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटिकी महामति भुल मङ्गलवार बिहान ४ बजे नै घरबाट लौरो टेकेर, टर्च बालेर विनायक निस्कनुभएको थियो । तीन घण्टाको उकालो हिँडेर झिसमिसे उज्यालोमा विनायक पुग्नुभएका उहाँ दिनभर भोको पेट बैङ्कमा धर्ना दिनुभयो । नागरिकतामा उल्लेख भएको उमेर अनुसार ७८ वर्ष पुगेकी महामतिलाई आफ्नो उमेर भन्नसम्म आउँदैन । उमेर सोध्दा उहाँले भन्नुभयो, ‘७० वर्ष पुगेको ७-८ वर्ष भैगो’ ।
७८ वर्षकी महामति बैङ्कमा पैसा लिन आउनुभएको एक साता भएको बताउनुभयो तर पैसा झिक्न पाएका छैनन् । लयाँटीकै ४२ वर्षकी एकल महिला सुर्जा नेपाली पनि बैङ्कबाट रकम निकालेर घरमा चामल लैजाने भनेर दिनभर सडक पेटीमै बसेर घर फर्किइन । २ छोरा २ छोरी भएकी उनले छोराछोरीको अर्धवार्षिक परीक्षाको सुल्क तिर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरमा भात नखाएको १५ दिन भयो, चामल किन्न पैसा छैन । छोराछोरीको स्कुलमा पैसा तिर्न सकेको छैन’ । यति भन्दा उनले आँखाभरि आँसु निकालिन् । उहाँ जस्तै एक सय जति वृद्धवृद्धा र सामाजिक सुरक्षा पाउनेहरू खाली हात घर फर्किनुभयाे ।
बैङ्कमा खराबी आएको १० दिन भएको बैङ्कका शाखा प्रबन्धक वसन्त नेपालीले बताउनुभयो । उहाँका अनुसार बैङ्कको विद्युत् जडान र इन्टरनेटमा खराबी आएको छ । मर्मतका लागि बैङ्कको केन्द्रीय कार्यालयमा पत्राचार भएको बैङ्कले जनाएको छ ।
बैङ्कको विनायक शाखामा सामाजिक सुरक्षा पाउने सात हजार छ सय र अन्य खातावाला गरी १६ हजार सेवाग्राही छन् । दैनिक एक सय जनाले कारोबार गर्ने बैकमा समस्या आउँदा सेवाग्राही मारमा परेका छन् । पञ्चदेवल विनायक नगरपालिकाको कार्यकारीको विवादका कारण असार यता सामाजिक सुरक्षा भत्ता प्राप्त हुन सकेको छैन ।