• ४ पुस २०८१, बिहिबार

पर्यटन प्रवर्धन गर्न नेपालगन्ज साइक्लोथन हुँदै

blog

पत्रकार भेटघाट कार्यक्रममा सहभागी आयोजक तथा अतिथिहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, पुष ३ गते । साइकलको माध्यमबाट प्रचारप्रसार गरी नेपालगन्ज तथा आसपास क्षेत्रको पर्यटन प्रवर्धन गर्न नेपालगन्जमा ‘नेपालगन्ज साइक्लोथन २०८१’ आयोजना हुने भएको छ ।

आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले बुधबार नेपालगञ्जमा पत्रकार भेटघाटमार्फत् पर्यटन प्रवर्धन गर्न सातौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता अन्तर्गत ‘नेपालगन्ज साइक्लोथन २०८१’ सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

नेपालगन्ज साइक्लिङ्ग क्लबका कार्यक्रम संयोजक कविराम बुढाथोकीले क्लबको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा पुष ६ गते ‘नेपालगन्ज साइक्लोथन २०८१’ को आयोजना गर्न लागिएको जानकारी दिनुभयो । देशभरीबाट ९० भन्दा बढी महिला तथा पुरुष खेलाडी प्रतियोगिहरु सहभगी हुने उहाँले जानकारी दिनुभयो ।

बुढाथोकीका अनुसार प्रतियोगिता विभिन्न पाँच विधामा आयोजना हुनेछ । दुई वटा विधामा राष्ट्रियस्तरका खेलाडिहरु समेत सहभागि हुनेछन् । माउन्टेन बाइक मेल ३५ किलोमिटर, माउन्टेन बाइक मास्टर २५ किलोमिटर, माउन्टेन बाइक स्कुल लेभल १६ किलोमिटर, साधारण पुरुष २२ किलोमिटर र साधारण महिला १६ किलोमिटर गरी पाँच विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।

माउन्टेन बाइक मेल ३५ किलोमिटर प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार नगद पुरस्कार पाउने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रदीप कार्कीले जानकारी दिनुभयो । त्यसैगरी माउन्टेन बाइक मास्टर २५ किलोमिटरमा प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

कार्कीका अनुसार माउन्टेन बाइक स्कुल लेभल १६ किलोमिटरमा प्रथम हुनेले १० हजार द्वितीय हुनेले सात हजार र तृतीय हुनेले पाँच हजार नगद पुरस्कारका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिता नेपालगन्जको विपीचोकदेखि सुरु भएर धम्बोझी, राँझा, हवल्दारपुर हुँदै कोहलपुर पुगेर सोही रुट हुँदै नेपालगन्जको विपीचोकमा पुगेर समापन हुने सचिव इन्द्रकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता पुष ६ गते विहान साढे ७ बजेबाट सुरु हुनेछ ।

सात वर्षअघि गठन गरी जिल्ला खेलकुद संघमा समेत आवद्ध भएको नेपालगन्ज साइक्लिङ्ग क्लबले हालसम्म ६ वटा विभिन्न प्रतियोगिता सम्पन्न गरिसकेको अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाका अनुसार साइकलका माध्यमबाट गुमनाम भएका पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै व्यापक प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धन गर्न क्लबले विगतमा ६ वटा प्रतियोगिताहरु सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

प्रकृति, संस्कृति, स्वास्थ्य, खेलकुद, वातावरण र पर्यटनको नारालाई केन्द्रमा राखेर नेपालगन्ज र आसपास क्षेत्रलाई उजागार गर्नका लागि यस किसिमका प्रतियोगिता महत्वपूर्ण हुँदैआएको उहाँले बताउनुभयो । मेयर कप प्रतियोगिताबाट यस क्षेत्रमा लुकेर बसेका खेल प्रतिभाहरुलाई उजागर गर्ने र नयाँ खेलाडी उत्पादन गर्नका लागि महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा साइक्लिङ्ग क्लबले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित बाँके शाखाका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।