• २४ पुस २०८१, बुधबार

पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँट : सहमति प्रयास जारी

blog

काठमाडौँ, भदौ २६ गते । सत्ता साझेदार पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि सहमतिको औपचारिक घोषणा हुन सकेको छैन। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताबीच छलफल जारी रहे पनि सहमति जुट्न नसकेको हो। 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल सिट बाँडफाँटमा सहमति जुटाउन प्रयासरत हुनुहुन्छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको सिट बाँडफाँट कार्यदलको बैठकमा पनि प्रारूप तयार गर्ने प्रयास भइरहेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार सम्पन्न गठबन्धनको बैठकपछि सहमति निर्माण  भइसकेको बताउँदै सार्वजनिक गर्न बाँकी रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी सहमतिको नजिक पुगेका छौँ, छलफल अहिले पनि जारी छ। अब व्यवस्थित रूपले सार्वजनिक गर्नमात्रै बाँकी छ। निष्कर्ष निकाल्ने चरणमा हामी छौँ।”

दाबी आआफ्नै

पाँच दलमा कांग्रेसको सय र माओवादी केन्द्रको ६० सिटमा दाबी छ। एकीकृत समाजवादीको ४०, जसपाको ३० सिट र जनमोर्चाको दुई सिटमा दाबी छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमा गठबन्धनमा सहमति गरेरै अघि बढ्ने बताउँदै आउनुभएको छ। 

एकीकृत समाजवादी अध्यक्ष नेपालले एक कार्यक्रममा सिट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताउनुभएको थियो। जसपा अध्यक्ष यादवले आफ्नो दाबी स्वाभाविक रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “कार्यदलको प्रतिवेदन र अन्य आधारमा सहमति खोज्नेगरी छलफल अघि बढ्छ।”

सार्वजनिक मञ्चमा विभिन्न किसिमका अभिव्यक्ति आए पनि बैठकमा हार्दिकतासाथ छलफल भइरहेको मन्त्री कार्कीले बताउनुभयो। उहाँले यथार्थलाई विश्लेषण गरेरै छलफल गरिरहेको र कुनै दल पनि त्योभन्दा बाहिर जाने विचारमा नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सार्वजनिक खपतका लागि क–कसले के–के भन्नुभएको छ, त्यो आफ्नो ठाउँमा होला। 

तर यहाँ गठबन्धनको आवश्यकता छ र चाँडै निष्कर्षमा पुग्नुपर्छ भन्ने कुरामा कसैको दुईमत छैन।” सबै दलले आफूलाई बढी सिट आओस् भन्ने इच्छा राख्नु स्वाभाविक भए पनि त्यसलाई आधारभूत धरातलमा विश्लेषण गरेर निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो।