शिवा तामाङ
ललितपुर, भदौ २४ गते । ललितपुर पिन्छेबहाल–७ निवासी सब्बु महर्जन चित्र बनाउन निकै रमाइलो मान्नुहुन्छ। मानभवनको एवियम उच्च माविमा कक्षा–७ मा पढ्नुहुने महर्जन हरेक शनिबार पकनाजोलस्थित सातोआकी भवनमा चित्रकलाबारे अतिरिक्त कक्षा लिनुहुन्छ। चित्रकलाको कक्षा लिन थालेपछि महिनाको एक पटक उपत्यकाको विभिन्न धार्मिक, ऐतिहासिक स्थानको भ्रमण गर्दै त्यहाँको सम्पूर्ण जानकारीसमेत लिन पाउँदा महर्जनलाई धेरै कुरा सिक्न पाएको अनुभव भएको बताउनुभयो।
विगत १० वर्षदेखि योङ पिकासोले स्कुल तहका विद्यार्थीलाई कला सिर्जनामा रुचि जगाउने काम पनि सिर्जनशील ढङ्गले सिकाउँदै आएको छ। अध्ययनका लागि लन्डन पुग्दा कला शिक्षक क्रिस बोन्डले बालबालिकालाई उनीहरूको रुचिअनुसार नै कलाको अभ्यास गराएको देखेर प्रभावित हुनुभएका योङ पिकासोका संस्थापक कला शिक्षक अजय देशारले स्वदेश फर्केपछि बालबालिकालाई योङ पिकासो संस्था खोलेर कलाको अभ्यास गराउँदै आउनुभएको हो। उहाँले बालबालिकालाई कक्षाकोठाभित्र राखेर यस्तो चित्र बनाउनु, उस्तो चित्र बनाउनु भनेर निर्देशन दिनुभन्दा उपत्यकाका ऐतिहासिक स्थानको भ्रमण गराउँदै उनीहरूले देखेका वा कल्पना गरेका विषयमा चित्र बनाउन सहयोग गर्नु पिकासोको लक्ष्य रहेको बताउनुभयो।
स्कुल जाने उमेरका साना बालबालिकालाई शनिबार वा बिदाको दिन पारेर पाठ्यक्रमभन्दा बाहिरका विषयमा साक्षात्कार गराउन चित्रकला सिकाउने र आफ्नो गाउँठाउँ, मन्दिर, पोखरीको ज्ञान पनि दिने गरिएको छ। बालबालिकालाई खुला स्थानमा लैजाँदा देशारलाई उहाँकी धर्मपत्नी सितु मास्केले पनि सहयोग गर्नुहुन्छ। त्यसैगरी हरेक बालबालिकाले आफ्नै घरमा बनाएको खाजा बाँडेर खाने अवसर पनि यस कार्यक्रमअन्तर्गत दिने गरिएको छ। कार्यक्रममा योङ पिकासोमा चित्रकलाको अध्ययन गर्ने साना बालबालिकादेखि कक्षा १२ अध्ययन गर्दै गरेका विद्यार्थी सहभागी हुन पाउँछन्।
बालबालिकालाई सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा स्थलमा घुमाउँदै आफ्नो परिकल्पनाअनुसारको चित्र बनाउने कार्यक्रमअन्तर्गत चित्लाङ उपत्यका, दक्षिणकाली, सानागाउँ, पाटन, बटुकभैरवलगायत ललितपुर जिल्लाका धार्मिक महत्त्वका सम्पदा स्थलको भ्रमण गराइसकेको योङ पिकासोले जनाएको छ।