यदुप्रसाद भट्ट
मनाङ, पुस २७ गते । मनाङको नासोँ गाउँपालिकामा अवस्थित दानाखोलामा लालुपाते हाइड्रोपावर कम्पनीले ४९ दशमलव ९५ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
६ वटा बैंकहरुको नेतृत्व गर्दै सानिमा बैंकसँग लालुपाते हाइड्रोपावर कम्पनिले वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । दानाखोला जलविद्युत आयोजना निर्माणको अवधि ३३ महिना रहेकोे छ ।
कुल ९९६ करोड रुपियाँ लगानीमा निर्माण हुने आयोजनामा ७४७ करोड विभिन्न बैंकहरुबाट ऋण, प्रवर्तकबाट २४९ करोड लगानी रहने बताइएको छ । कुल लगानीको २४.९ करोड स्थानीयका लागि शेयर जारी गरिने, स्वपुँजीको ४९.८ करोड र स्थानीय सर्वसाधारणबाट ७४.७ करोड रुपियाँ संकलन गरिने कम्पनिले जनाएको छ ।
लालुपाते हाइड्रो पावर प्रोजेक्टको प्रमुख केन्द्र मनाङको नाचै गाउँमा रहेको र त्यहाँसम्म पुग्ने सडक अझ बनेको छैन । सडक निर्माण कार्य हालै मात्र सुरु भएको छ । मनाङका सांसद टेकबहादुर गुरुङले नाचैसम्म पुग्ने खोत्रो–नाचै सडक निर्माणमा कम्पनिलाई सहयोग गर्न आग्रह गर्नुभयो । सडक निर्माण चाँडै सम्पन्न भएमा हाइड्रोपावर आयोजना निर्माण कार्य पनि समयमै सुरु हुने उहाँले बताउनुभयो ।
सांसद गुरुङले कुनै पनि योजना निर्माण गर्न सडक नभइ नहुने र विकासको योजना गर्दा मुख्यतः सडक नै प्राथमिकतामा आउने बताउँदै भन्नुभयो, ‘सडक राम्रो भएन भने आयोजनाहरु समयमै सम्पन्न हुन सक्दैन । लगानी पनि बढ्छ ।’
सांसद गुरुङले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले लमजुङको खुदीदेखि मनाङको कोतोसम्मको ५० किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम सुरु गरेको जानकारी दिँदै भन्नुभयो, ‘ठूला निर्माण सामग्री बोकेका सवारीसाधन निर्माण स्थलसम्म आउन सकेका छन् । त्यसैले लालुपातेले पनि खोत्रो–नाचै सडक निर्माणमा सहयोग गर्नेछ भन्ने अपेक्षा गरेको छु ।’ नासोँ गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले दानाखोला जलविद्युत आयोजना गाउँपालिकाको सम्पत्ति भएको भन्दै निर्धारित समयमै बिनाअवरोध निर्माण कार्य सम्पन्न गर्न व्यक्तिगत र स्थानीयको सधैं साथ सहयोग रहने बताउनुभयो । गाउँपालिका प्रमुख गुरुङले कम्पनीले इआई, पीपीए र सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यक्त गरेका प्रतिद्धताहरु अक्षरशः पालना हुनुपर्नेमा जोड दिनुभयो ।