पृथ्वीनारायण शाह आफूभन्दा बलियो अङ्ग्रेज सेनासँग सकेसम्म युद्ध टार्न चाहन्थे । उपत्यकाका मल्ल राजाहरूको सहायताका लागि कप्तान किन्लकको नेतृत्वमा १८२४ सालमा कम्पनी सरकारका सैनिक गोर्खाली सेनाविरुद्ध लड्न नेपाली भूमिमा आउनुअघि शाह आफैँले पटनामा कम्पनी सरकारका हाकिम थमस रम्बोल्डलाई पत्र लेखेर भेट्ने र सुलह गर्ने इच्छा राखेको तथ्य तुलसीराम वैद्यसमेतबाट लिखित पुस्तक ‘नेपालको सैनिक इतिहास, शाही नेपाली जङ्गी अड्डा, २०४९’ मा उल्लेख छ ।
पृथ्वीनारायण शाह नेतृत्वको गोर्खा सैनिकले मकवानपुरका सेनासँग युद्ध जित्यो । राजा दिग्बन्धन सेन परिवारसहित गोर्खाको कैदमा राखिए तर मकवानपुर राज्य अधीनको महोत्तरीदेखि पर्सासम्मको दक्षिण तराईको समथर भूमि (तलहटी) गोर्खाकोे अधीनमा आउन सकेन । पृथ्वीनारायण शाहले त्यस भूमिका लागि अङ्ग्रेजसँग युद्ध पनि गरेनन् । त्यो विषम परिस्थितिमा सिन्धुलीको झाँगाझोलीमा पर्ने परेवाडाँडाका दीनानाथ उपाध्याय (दाहाल) परिपक्व कूटनीतिक कौशल प्रस्तुत गर्दै बिनायुद्ध दक्षिण तराईको त्यो भूभाग नेपालको अधीनमा ल्याएर नेपाल–अङ्ग्रेज सम्भावित युद्ध पन्छाउन सफल भएका थिए ।
मकवानपुर विजय र तलहटी विवाद
विक्रमको अठारौँ शताब्दीमा पश्चिम कर्णाली प्रश्रवण क्षेत्रमा २२, गण्डकी प्रश्रवण क्षेत्रमा २४, काठमाडौँ उपत्यकामा कान्तिपुर, ललितपुर र भक्तपुर गरी तीन राज्य थिए । दक्षिणतर्फ मकवानपुर तथा पूर्वमा विजयपुर र चौदण्डीसमेत ५२ जति ससाना राज्यमा विभाजित थिए । तीमध्ये गण्डकी प्रश्रवण क्षेत्रको गोर्खा राज्यमा पृथ्वीनारायण शाह १७९९ साल चैत २५ मा राजा भएका थिए ।
विसं १७७९ पुस २७ गते गोरखा दरबारमा पृथ्वीनारायण शाह जन्मेका थिए । २० वर्षको उमरेमा राजा भएका शाहले कान्तिपुर अधीनको नुवाकोटमाथि पहिलो आक्रमण गरेका थिए, जसमा उनी पराजित भए । शाहले १८०१ साल असोज १५ गते दोस्रो प्रयासमा नुवाकोट विजय गरे ।
नुवाकोट विजय आधुनिक नेपाल निर्माणको पहिलो पाइला थियो । त्यसपछि पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकावरिपरिका साँखु, चाँगु, महादेवपोखरी, सिन्धुपाल्चोक, पलाञ्चोकगढी, काभ्रेगढी, दोलखा, धुलिखेल, बनेपा, साँगा, चौकोट, पनौती, फर्पिङसहितको भूभाग जितेर १८१९ साल भदौ ९ मा मकवानपुर विजय गर्न सफल भए । पृथ्वीनारायण शाह नेतृत्वको गोर्खाली सेना सोही वर्ष असोज २ गते तिमाल, त्यसै वर्षको असोज ९ र २० गतेको दुई पटकको लडाइँपछि सिन्धुली तथा १८१९ सालको असोज २२ मा हरिहरपुरगढी विजय गर्न सफल भयो । मकवानपुरका पराजित राजा दिग्बन्धन सेन र मन्त्री कनक बानियाँको सहायतार्थ मुर्सिदाबादका नवाब मिरकासिमले गुर्गिन खाँ नेतृत्वमा पठाएको दुई हजार मुसलमानी सेनाले मकवानपुर फिर्ता गर्न हर्नामाडीमा सैनिक छाउनी बनाएको थाहा पाएर तिनीहरूमाथि गोर्खाली सेनाले १८१९ साल माघ १० मा आक्रमण गरी हतियार खोसेर धपाइदिएपछि मात्र मकवानपुरमाथि गोर्खाको पूर्ण विजय भएको इतिहासकारहरूको दाबी छ ।
मकवानपुर राज्यको सीमा दक्षिणमा अवधका नवाबसँग जोडिएकाले उनीहरूसँग सेन राजाको सम्बन्ध राम्रो थियो । महोत्तरीदेखि पर्सासम्मको तराईको समथर उर्वर ठुलो भूभागको कर उठाएर अवधका नवाबलाई वार्षिक केही हात्ती र अरू कोसेली (उपहार) बुझाएर ठुलै रकम आम्दानी गर्न मकवानी राजा सफल भइरहेका थिए । सन् १६०० मा स्थापना भएको ‘इस्ट इन्डिया’ नामको व्यापारिक कम्पनी लिएर भारत प्रवेश गरेका अङ्ग्रेजहरू सन् १७५७ मा प्लाँसीको युद्ध जितेपछि बङ्गालका शासक बनेका थिए र पूर्वी तथा उत्तरी भारतमा उनीहरूको शक्ति बढ्दो थियो । यसबिच मकवानपुर गोर्खाको अधीनमा भएपछि महोत्तरीदेखि पर्सासम्मको भूमिमा कर उठाउने र कम्पनी सरकारसँग सम्बन्ध नवीकरण गर्ने काममा गोर्खालीसँग अङ्ग्रेजको खटपट भइरहेको थियो ।
यता मकवानपुर विजयपछि काठमाडौँ उपत्यकामा गोर्खाको नाकाबन्दी कडा भयो । १८२२ सालमा गोर्खाले कीर्तिपुरमाथि अधिकार गरेपछि उपत्यकाका मल्ल राजाहरूले इस्ट इन्डिया कम्पनी (अङ्ग्रेज) सँग सैनिक सहायता मागेर पत्रसँगै प्रतिनिधि पठाए । मल्ल राजाहरूको सहायताका लागि कप्तान किन्लक नेतृत्वमा आएको अङ्ग्रेज सेनालाई गोर्खाली सेनाले विसं १८२४ असोज १५ मा सिन्धुलीगढीमा आक्रमण गरी अघि बढ्न नदिएपछि किन्लक आफूसँग बाँकी आठ सयजति सैनिक लिएर मकवानपुर दक्षिणको खुँडाघाट, धनमना खोला हुँदै हरिहरपुरगढी नाघेर काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रयासमा थिए । ती मोर्चामा पनि गोर्खाली सैनिकले तर्साएपछि उनी दक्षिण तराईका पर्सा, बारा र रौतहटका समथर भूमिमा छाउनी बनाएर बसे । त्यसबेला वर्षाको समय भएकाले किन्लक हिउँदमा थप सैन्यबल मगाएर पुनः काठमाडौँ प्रवेश गर्ने योजनामा थिए । किन्लकले पटनामा पत्राचार गरेर थप सैनिक र हतियार मागेका पनि थिए । ठिक त्यसैबेला दक्षिण भारतको मद्रासमा हैदर अलीले अङ्ग्रेजविरुद्ध युद्ध घोषणा गरेकाले अङ्ग्रेजको सैन्य शक्ति उता केन्द्रित गर्नु पर्यो । कम्पनी सरकारले किन्लकलाई तत्काल सहयोग पठाउन नसकेकाले काठमाडौँ मिसन स्थगित गरिएको जानकारी पठायो ।
पटनाबाट सहयोग नआउने भए पनि किन्लक लामै समय बारा र पर्सामा बसे । किन्लक नेतृत्वको अङ्ग्रेज सेना रौतहट, बारा र पर्साआसपासको ठुलो क्षेत्रफलमा फैलिएको समथर र उर्वर मानव आवाद भइरहेको भूभाग कब्जा गरेर बसेको थियो । बाबुराम आचार्यले सो भूभागलाई ‘तलहटी’ नाम दिएका छन् । किन्लकले त्यस भूभागबाट वार्षिक २४ हजार रुपियाँजति मालपोत रकम असुल गर्ने गरेको इतिहासकार आचार्यको अनुमान छ । किन्लकले कब्जा गरेर बसेको त्यो भूभाग गोर्खाबाट विजित मकवानपुरका राजाको अधीनको थियो । मकवानपुर राज्य विधिवत् गोर्खाको भइसकेपछि ती भूभागमा गोर्खाको दाबी स्वाभाविक हुने पृथ्वीनारायण शाहको बुझाइ थियो तर पृथ्वीनारायण शाहले तत्कालै किन्लकसँग सैन्य द्वन्द्व बढाएर पौँठेजोरी खेल्न चाहेनन् । कूटनीतिक उपायबाट ती भूभाग आफ्नो पक्षमा पार्ने प्रयास जारी राखे ।
निरन्तरको युद्धमा विजय हात पारेका पृथ्वीनारायण शाहले किन त्यस महत्वपूर्ण भूमिका लागि युद्ध चाहेनन् ? यसका कारण अनेक छन् । कप्तान किन्लकले कब्जा गरेर बसेको त्यो भूमि हात पार्न सैन्य उपाय खोजिएको भए कम्पनी सरकार आफ्ना सैन्य अधिकृत र सैनिकमाथिको आक्रमणप्रति पक्कै निरपेक्ष बस्ने थिएन । यो कुरा शाह राम्ररी जान्दथे । आफ्ना सैनिकले सिन्धुलीगढीको पहाडी विकट भूभागमा झुक्याएर आक्रमण गरेर दपेट्न सके पनि तराईको समथर भूमिमा आधुनिक तालिम लिएका अङ्ग्रेज सैनिकलाई हराउन मुस्किल पर्छ भन्नेमा पनि शाह जानकार थिए । यसबाहेक कम्पनीसँग सैन्य विवाद बढेमा उपत्यकामाथि करिब सहज हुन लागेको विजयमा धक्का लाग्ने र पूर्वी तराईका भूभागमा अधिकार गर्न पछि समस्या हुन सक्ने अनुमान गरेर पृथ्वीनारायण शाहले कूटनीतिक उपाय रोजे । उनले केही समय ‘पर्ख र हेर’ नीति अँगालेका थिए ।
युद्ध होइन संवाद र सहमति
व्यवहारमा जुन नीति लिए पनि अन्तर्यमा पृथ्वीनारायण शाह आफुभन्दा बलियो अङ्ग्रेज सेनासँग सकेसम्म युद्ध टार्न चाहन्थे । उपत्यकाका मल्ल राजाहरूको सहायताका लागि कप्तान किन्लक नेतृत्वमा १८२४ सालमा कम्पनी सरकारका सैनिक गोर्खाली सेनाविरुद्ध लड्न नेपाली भूमिमा आउनुअघि शाह आफैँले पटनामा कम्पनी सरकारका हाकिम थमस रम्बोल्डलाई पत्र लेखेर भेट्ने र सुलह गर्ने इच्छा राखेको तथ्य तुलसीराम वैद्यसमेतबाट लिखित पुस्तक ‘नेपालको सैनिक इतिहास, शाही नेपाली जङ्गी अड्डा, २०४९’ मा उल्लेख छ । शाह एकातिर अङ्ग्रेजका आधुनिक तालिम र हतियारबाट सुसज्जित सैनिकसँग भर्खर सङ्गठित हुँदै गरेका गोर्खाली सैनिकलाई युद्धमा धकेल्न चाहँदैनथे भने अर्कातिर आफूबाट विजित मकवानपुरका सेन राजाले कुत उठाइरहेको थुप्रै आम्दानी हुने भूमि गुमाउन पनि चाहँदैनथे । यस्तो अप्ठ्यारो अवस्थामा शाहले सिन्धुली, झाँगाझोलीको परेवाडा“डाका सत्यधर उपाध्याय (दाहाल) का छोरा दीनानाथ उपाध्याय (दाहाल) मार्फत पटनामा रहेका कम्पनी सरकारका पदाधिकारीस“ग सम्पर्क बढाए । मकवानपुरका राजा हेमकर्ण सेनका कर्मचारी (प्रतिनिधि) भएर दक्षिणको नवाब र इस्ट इन्डिया कम्पनीका पदाधिकारीसँग असल सम्बन्ध बनाएका दीनानाथ उपाध्याय (दाहाल) बाट शाह यस काममा सोचे जस्तै उपलब्धि हात पार्न सफल भए ।
इतिहासशिरोमणि बाबुराम आचार्य (हेर्नुहोस् : नेपालको सङ्क्षिप्त वृत्तान्त, सम्पा./प्रकाशक श्रीकृष्ण आचार्य, दोस्रो सं., २०६३) ले लेखेका छन्, “मकवानपुर राज्यको पूर्वी पहाडी क्षेत्र झा“गाझोलीमा स्थायी घर–वास भएका सत्यधर उपाध्याय (दाहाल) मकवानपुर राज्यका राजा हेमकर्ण सेनका विश्वासी कर्मचारीका रूपमा कार्यरत रहेका थिए । बख्सी केहरसिंह बस्नेत मकवानपुरका प्रमुख प्रशासक भएर रहँदा सत्यधर उपाध्यायका छोरा दीनानाथ उपाध्याय त्यहाँको नियमित कर्मचारी हुन आइपुगेका थिए । मालपोत कार्यालयका कुशल कर्मचारी भएर कार्यरत रहेकाले आफ्नो देशको तराई क्षेत्रहरूका सम्बन्धमा मकवानपुर राज्यका भूतपूर्व राजा तथा तात्कालिक स्थानीय मुगल–प्रशासकका बिचमा भएका लिखतहरूका बारेमा यिनलाई राम्रै जानकारी रहेको थियो ।”
किन्लक बारा र पर्सामा छँदै पृथ्वीनारायण शाह १८२५ साल असोज र १८२६ कात्तिक अन्तिममा काठमाडौँ उपत्यकाका तीन वटै मल्ल राज्यमाथि अधिकार गर्न सफल भए । यसपछि शाहले दीनानाथ उपाध्यायलाई मकवानपुर मालपोतको सुब्बा पद दिएर कम्पनी सरकारसँग कुरा गर्ने आफ्ना प्रतिनिधि नियुक्त गरे । कम्पनी सरकारसँग कुरा गर्नुअघि शाहले दीनानाथलाई काठमाडौँमा आफैँले भेटेर परामर्श गरे । मकवानपुरका पुराना कागज अध्ययन गर्दा दिल्लीका बादसाह औरङ्ग्जेवको राज्यकालमै मकवानी राजाले प्रतिवर्ष १४ तसुकको एक हात र त्यस्तो चौध हातको एक हात्ती मालवाजीका रूपमा बादसाहलाई दिल्लीमा पठाउने गरेको र पछि मुर्सिदाबादका नवाबमातहतमा सो भूमि आइपुगेपछि बादसाहको सट्टामा यिनै नवाबलाई १२ तसुकको एक हात र त्यस्तो साढे १२ हातको हात्ती बुझाउने गरेको लेखापढी कागज भेटियो । पृथ्वीनारायण शाह र दीनानाथ उपाध्यायबिच यही स्रेस्तालाई आधार मानेर अङ्ग्रेजसँग सम्झौताको प्रयास गर्ने निधो भयो ।
वार्षिक केही हात्ती र निश्चित रकम बुझाउने सर्तपछि अङ्ग्रेजले सो भूमिमाथिको दाबी सदाका लागि त्यागिदियो । त्यसपछि कप्तान किन्लक नेतृत्वको सेनासँग पृथ्वीनारायण शाहको जम्काभेट सदाका लागि अन्त्य भयो अर्थात् तलहटी भनिने महोत्तरीदेखि पर्सासम्मको तराईको भूमि बिनायुद्ध विधिवत् नेपालको अधीनमा भयो ।
पृथ्वीनारायण शाहसँगको परामर्शपछि सुब्बा दीनानाथ सन् १७७१ तदनुसार १८२८ सालमा महोत्तरीसँग सीमा जोडिएको अङ्ग्रेज अधीनको भूभाग दरभङ्गा गए । त्यहाँ कम्पनी सरकारका पदाधिकारी मेजर केली थिए । दीनानाथसँगको छलफलपछि मेजर केली सन्तुष्ट भएर उनले दीनानाथलाई पटना पठाए । पटना कौन्सिलका हाकिमसमक्ष सुब्बा दीनानाथले महोत्तरीदेखि पर्सासम्मको तराई (तलहटी) का जमिन मकवानपुरका राजाका अधीनमा छँदा चलेको रीत अर्थात् मकवानी राजाले सो जमिनको कुत उठाएबापत दिने गरेको सिर्ताे (कर) म पनि दिन तयार छु तसर्थ ती प्रदेश अब मेरा अधीन (अधिकार क्षेत्रभित्र) मा हुनु पर्छ भन्ने बेहोराको राजा पृथ्वीनारायण शाहको लिखित पत्र पेस गरे । मकवानपुर राज्यले औरङ्ग्जेव र मुर्सिदाबादका नवाबसँग लेनदेन गरेका केही पुराना कागजात दीनानाथले साथमा लगेका थिए । ती कागजात जाँच गरेपछि र दीनानाथको परिपक्व ढङ्गको अनुरोध सुनेपछि पटना कौन्सिलका कम्पनी सरकारका हाकिमले सुब्बा दीनानाथको प्रस्ताव सदर गरिदिए । अब कम्पनीका पदाधिकारीले पृथ्वीनारायण शाहसँग वार्षिक १४ तसुकको एक हात र त्यस्तो चौध हातको हात्तीका साथ गत वर्षहरूको बक्यौता रकम १५ हजार रुपियाँ माग गरे । सो कचिङ्गल सदाका लागि अन्त्य होस् भन्ने चाहनाले पृथ्वीनारायण शाहले १५ हजार रकम तुरुन्तै बुझाइदिएका थिए ।
पृथ्वीनारायण शाहलाई उनका सल्लाहकारले किन्लकले बारा, रौतहट र पर्सा जिल्लाको भूमि ओगटेर बस्दा केही वर्ष कर असुलेकाले १५ हजार नेपालले अङ्ग्रेजलाई दिनु पर्दैन भन्ने सल्लाह दिएका थिए तर शाहले दीनानाथको सल्लाहमा पूरै रकम दिए ।
वार्षिक केही हात्ती र निश्चित रकम बुझाउने सर्तपछि अङ्ग्रेजले सो भूमिमाथिको दाबी सदाका लागि त्यागिदियो । त्यसपछि कप्तान किन्लक नेतृत्वको सेनासँग पृथ्वीनारायण शाहको जम्काभेट सदाका लागि अन्त्य भयो अर्थात् तलहटी भनिने महोत्तरीदेखि पर्सासम्मको तराईको भूमि बिनायुद्ध विधिवत् नेपालको अधीनमा भयो । आफ्नो सर्तमा अङ्ग्रेजलाई सहमत गराउन, सीमाआसपास जोगी अर्थात् साधुहरूको लुटपाट रोक्नुपर्ने अङ्ग्रेजको प्रस्तावलाई दीनानाथको आग्रहमा शाहले मन्जुर गरिदिएका थिए । पृथ्वीनारायण शाहलाई यस भूमिको विवाद सदाका लागि अन्त्य गर्न सुब्बा दीनानाथ उपाध्यायले पुराना कागज खोजेर, अङ्ग्रेज हाकिमसमक्ष प्रमाण पेस गरेर, ठुलै उपाय जुराइदिएका थिए । दीनानाथको प्रमाणसहितको उपायलाई शाहले समर्थन गरेर अङ्ग्रेज पदाधिकारीसमक्ष पठाउन उनैलाई प्रतिनिधि नियुक्त गरिदिए । दीनानाथ उपाध्यायको यसप्रकारको परिपक्वताबाट उनी चतुर, संयमी, अध्येता, आफ्नो जिम्माको कामप्रति बफादार र देशभक्त थिए भन्ने बुझ्न सकिन्छ ।
पृथ्वीनारायण शाह तलहटीको विवाद वार्ता र संवादमार्फत मिलाउन लागिपरेका र कम्पनी सरकार पनि त्यसबेला अन्यत्रका सैनिक मामलामा अल्झेको हुनाले उसका खातिर तराईका ती भूमिमाथि खास ध्यान जान पाएको थिएन । त्यस भूमिको दाबीमाथि कम्पनीले त्यसबेला खुकुलो नीति अवलम्बन गरेको अनुमान हुन्छ ।
कम्पनी सरकारले त्यसबेला ती भूमिमाथि खास ध्यान नदिनुमा नेपाल–भारत आसपास पश्चिम हरिद्वारदेखि पूर्व आसामसम्मको भूभागमा सक्रिय नागा–साधुहरूले अङ्ग्रेज व्यापारीका कोठीमा गर्ने गरेका निरन्तरको लुटपाट, सशस्त्र आक्रमण, तिनीहरूलाई अधिक हिन्दु समाजको समर्थन पनि एउटा कारण हुन सक्ने कतिपय लेखकको अनुमान छ । साथै अङ्ग्रेजहरू त्यस भूभागमा द्वन्द्व लम्ब्याएर सशस्त्र सैनिक कारबाही सञ्चालन गर्नुभन्दा शान्तिपूर्ण माध्यमबाट समस्या समाधान हुन सके आफ्नो ध्यान पन्जाबका शक्तिशाली सिख, दक्षिणका हैदर हली, मराठालगायत शक्तिमाथि केन्द्रित हुन सकिने अपेक्षामा थिए । इस्ट इन्डिया कम्पनीका पदाधिकारी र पृथ्वीनारायण शाहको उपर्युक्त मनसायलाई दीनानाथ उपाध्यायले नजिकबाट बुझेका थिए । दाहाल काठमाडौँ र पटना दुवैतर्फ यही सन्देश पुर्याएर गोर्खा र अङ्ग्रेजबिच सुलह गरी सम्भावित युद्ध टार्न सफल भए ।
दीनानाथ उपाध्यायमार्फत सम्पन्न यो कूटनीतिक सफलता नेपाल एकीकरणको महत्वपूर्ण समयमा भएको थियो । राजा पृथ्वीनारायण शाह र दीनानाथ उपाध्यायको संयुक्त प्रयासबाट सम्पन्न हुन सकेको तलहटी अर्थात् पूर्व महोत्तरीदेखि पश्चिम पर्सासम्मको भूमिमाथिको स्वामित्व विवाद युद्धबिना समाधान हुन सकेको दृष्टान्तमा गहिरिँदा के निष्कर्ष निकाल्न सकिन्छ भने पृथ्वीनारायण शाह नेपालको राजदरबारमा कूटनीतिज्ञ दीनानाथ उपाध्याय जस्ता योग्य पात्रको कूटनीतिक दक्षता, सम्पर्क, कौशल र देशप्रेमलाई सही ढङ्गबाट बुझेर परिचालन गर्न सक्ने राजा थिए । गोर्खा–अङ्ग्रेजबिच १८२४ सालमा सिन्धुलीगढीमा भएको छोटो युद्धको ४७ वर्षपछि विसं १८७१–७२ मा नेपालले अङ्ग्रेज अर्थात् इस्ट इन्डिया कम्पनीसँग लडेको युद्ध टर्न सक्थ्यो र नेपालीले सुगौली सन्धि गरेर विशाल भूभाग गुमाउनु पर्दैनथ्यो ।
दीनानाथ उपाध्याय को हुन् ?
प्राडा सूर्यमणि अधिकारीले ‘खश साम्राज्यको इतिहास, काठमाडौँ, भुँडीपुराण प्रकाशन, २०६१’ मा कर्णाली प्रदेशका गाउँका नामबाट उत्पत्ति भएका थरहरू शीर्षकमा हाल दैलेख जिल्लामा पर्ने ‘दह’ गाउँबाट ‘दाहाल’ थरको नामकरण भएको लेखेका छन् । वत्स गोत्रका दाहालहरू नेपाल आएका आफ्ना प्रथम पुर्खा ‘दाशु’ लाई मान्दछन् । यी दाहालका पुर्खा जुम्लाको सिँजाबाट दैलेख गएका थिए ।
पश्चिम कर्णालीबाट खस–आर्यहरू समथर उब्जाउ भूमि, सधर्मी र गाँसबासको सुरक्षा खोज्दै पूर्र्व बढ्ने सिलसिला काठमाडौँ उपत्यकाका राजा अनन्त मल्ल (राज्यकाल विसं १३३० देखि १३६५) को राज्यकालपछि तीव्रता आएको थियो । दैलेखबाट दाहालको कुन पुस्ता, कहिले, कुन स्थान हुँदै सिन्धुलीको झाँगाझोली–परेवाडाँडा आइपुगे ? यसबारे विस्तृत जानकारी थाहा हुन नसके पनि विसं १७८५ मा तत्कालीन कान्तिपुरका राजा जगज्जय मल्लले लक्ष्मण पाध्या (दाहाल) लाई रुपियाँ मोहर लिएर पूर्व २ नं. झाँगाझोली मूलकोट (हाल सुनकोशी गाउँपालिका–५) को जग्गा (खेत) बेची गरिदिएको ताम्राभिलेख अन्वेषक मोहनप्रसाद खनालले ‘अभिलेख सङ्कलन, ललितपुर, साझा प्रकाशन, विसं २०२८’ मा प्रकाशन गरेका छन् । यसबाट पूर्व २ नं. झाँगाझोलीमा वत्स गोत्रका उपाध्याय (दाहाल) हरू पृथ्वीनारायण शाहको उदयभन्दा पहिलेदेखि बसोबास गर्न थालेको पुष्टि हुन्छ । पाल्पाका राजा मुकुन्द सेन प्रथमका सेनाले विसं १५७५–९५ मा मकवानपुर हुँदै भित्री मधेस र काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ पर्ने किराँत प्रदेश विजय गरेका थिए । मुकुन्द सेनको राज्यको सीमा पूर्वमा टिष्टा र सिक्किमसँग जोडिएको थियो । यो विजयको नेतृत्व उनका कान्छा छोरा लोहाङ सेनले गरेका थिए । पिताको मृत्युपछि मुकुन्द सेनका छोराहरूले विसं १६०० तिर सेन राज्य विभाजन गरे । यसक्रममा लोहाङ सेन मकवानपुरसहित पूर्वउत्तरतर्फको भूभागका राजा भए । त्यसपछि लोहाङ सेनले मकवानपुरबाट उत्तरपूर्वका महाभारतबाट उत्तर, सुनकोशी नदीभन्दा दक्षिणतर्फको पहाडी भूभाग, सुनकोशी गढतिरदेखि तिमालसम्म कान्तिपुरका मल्ल राजाको अधीनबाट मकवानपुरमा मिलाएका थिए ।
त्यसबेला शक्तिशाली राजा र सेना भएको राज्यले वरपरको भूभाग आफ्नोमा मिलाई राजा र सेना कमजोर भएको मौकामा वल्लोपल्लो राज्यले ती भूमि पुनः आफूमा मिलाउने सिलसिला नियमित झैँ हुन्थ्यो । मकवानपुर राज्य बेला बेलामा आन्तरिक कलहमा फसेको समयमा झाँगाझोलीसमेत महाभारत लेकको उत्तरतर्फको सुनकोशी नदीको दक्षिणतर्फको गढतिर र पहाडी इलाका कुनै समय कान्तिपुरका मल्ल राजाले अधीनमा पारेका थिए । विसं १८१९ मा पृथ्वीनारायण शाहले मकवानपुर विजय गर्नुअघि भने मूलकोट मकवानपुरको अधीनमा थियो । मूलकोट, झाँगाझोलीका दीनानाथ उपाध्यायका पूर्वज लक्ष्मण पाध्याले कान्तिपुरका राजा जगज्जय मल्लसँग जमिन खरिद गरे पनि पछिल्लो समय परेवाडाँडाका दाहाल उपाध्यायहरू मकवानपुरका सेन राजासँग निकट थिए । दीनानाथ उपाध्यायका पिता सत्यधर उपाध्याय मकवानपुरका राजा हेमकर्ण सेनका विश्वासिला कर्मचारी थिए । हेमकर्ण सेनको विसं १८१६ मा देहान्त भएपछि उनका छोरा दिग्बन्धन सेन मकवानपुरका राजा भए । झाँगाझोलीका सत्यधर उपाध्यायको शेषपछि पिताको सरकारी पदमा छोरा दीनानाथ उपाध्याय नियुक्त भएका थिए ।
दीनानाथ उपाध्यायले पृथ्वीनारायण शाहको शेषपछि पनि नेपाल दरबारमा काम गरे । दीनानाथ उपाध्यायका कूटनीतिक सफलताका दृष्टान्त अरू धेरै छन् । दीनानाथका छोरा चन्द्रशेखर उपाध्याय (दाहाल) नेपाल दरबारको सम्पर्कमा बसेर लामो समय कूटनीतिमा सक्रिय रहे पनि उनले विसं १८७१–७२ को नेपाल–अङ्ग्रेज युद्ध पन्छाउन सकेनन् । बरु विसं १८७२ फागुनतिर हस्ताक्षर भएको सर्वाधिक विवादित सुगौली सन्धिमा गजराज मिश्रसँगै नेपालका तर्फबाट हस्ताक्षर गर्ने काममा उनी संलग्न हुनु पर्यो ।
आधुनिक नेपाल निर्माणको प्रारम्भिक घडीदेखि निरन्तर उच्च कूटनीतिक क्षमता प्रस्तुत गरेर पुस्ता पुस्ताले राष्ट्रको समृद्धिमा योगदान गर्न सफल पुराना कूटनीतिक घरानाका सदस्य चन्द्रशेखर उपाध्यायलाई सुगौली सन्धिसँग जोडेर विवादित बनाइँदा उनका पिता एवं सफल कूटनीतिक व्यक्तित्व दीनानाथ उपाध्यायसमेत चर्चा र मूल्याङ्कनको कसीमा ओझेल परेका छन् ।