• २ भदौ २०८२, सोमबार

सैनिक इतिहास नेपाली परिवेश

blog

नेपालको इतिहास लेख्ने प्रथम नेपाली पं. अम्बिकाप्रसाद उपाध्याय हुन् । उनको कृति ‘नेपालको इतिहास र रामनगरको इतिहास’ विसं १९७९ मा भारतबाट प्रकाशन भयो । यसमा सैन्य वर्णन न्यून छ । इतिहासका प्रामाणिक तथ्य खोज गरी अन्य प्रमाणमा भिडाई इतिहास लेख्ने नेपाली प्रथम लेखक बाबुराम आचार्य हुन् ।

विश्वको आधुनिक इतिहास लेखनमा सैनिक इतिहासले अग्रणी स्थान ओगटेको छ । आधुनिक विश्व इतिहासको जननी सैन्य इतिहास हो । इतिहासका पिता हेरोडोट्स मानिन्छ । संसारमा ‘हिस्ट्री’ शब्दको उल्लेख पनि पहिलो पटक यिनैले गरेका हुन् । एथेन्सवासीले पर्सियासँग लडेको युद्धको वर्णन नै संसारको पहिलो युद्ध इतिहास हो । हेरोडोट्सले त्यो युद्ध इतिहास लेख्दा पहिलो पटक अनुसन्धान प्रक्रिया अपनाएकाले उनलाई इतिहासका पिता मानिन्छ । हेरोडोट्सको ग्रन्थ ‘हिस्ट्रिज’ तीन भागमा छ । यसको प्रत्येक भागलाई तीन खण्डमा विभाजन गरिएको छ । हालसम्म हेरोडोट्सले सैन्य सेवामा काम गरेको तथ्य चाहिँ पाइएको छैन । 

यसपछिका लेखक थ्युसिडाइडिज (४६०–४०० बिसी) हुन् । यिनलाई वैज्ञानिक इतिहास विधाका प्रवर्तक मानिन्छ । उनले ‘पेलोपोनेसियन युद्ध’ नामक इतिहास पुस्तक लेख्दा घटनाको प्राकृतिक कारणहरूबारे व्याख्या गरेका थिए । 

एथेन्स र स्पार्टाबिच २७ वर्ष चलेको ‘युनान युद्ध’ को आठ वर्षपछि २७ वर्षको उमेर हुँदा यिनी एथेन्सका १० सेनापतिको समूह (मण्डल) मा सदस्य नियुक्त भए । युद्धको सिलसिलामा यिनले केही समय वेथाभोसमा जङ्गी वेडाको नेतृत्व गरेका थिए । त्यस मोर्चामा हारेपछि यिनलाई निर्वासित गरियो । थ्युसिडाइडिजले सेनापति समूह (मण्डल) मा छँदा नागरिक शासनतर्फ पनि काम गरेका थिए । यसैले युद्धबारे यिनमा गहिरो जानकारी थियो । निर्वासित हुनु परेपछि यिनले त्यो युद्धका विविध पक्षको सूक्ष्म अध्ययन गरे, वर्णन गरे र ग्रन्थको रूप दिए । लेखन पूरा नहुँदै ५० वर्ष जतिको उमेरमा यिनको देहावसान भयो । 

थ्युसिडाइडिजको कृति ‘पेलोपोनेसियन वार’ ४३१ देखि ४०४ बिसीमा लेखिएको थियो । लेखक आफैँ सैन्य अधिकारी र युद्ध अनुभवी भएकाले यसमा युद्धका परिस्थितिको सूक्ष्म ढङ्गबाट प्रकाश पारिएको छ ।  यी दुई इतिहास लेखकलाई आधुनिक इतिहास लेखन युगका पथप्रदर्शक मानिन्छ । यिनीहरूपछि, रोमका प्रथम इतिहासकार पोलिबिअस (२०४–१२२ बिसी) र जेनोफोन (४३०–३५४) हुन् । पोलिबिअसले 

‘प्युनिक युद्ध’ को वर्णन लेखेका थिए । जेनोफोनले प्रसिद्ध इतिहास ग्रन्थ ‘हेलेनिका’, ‘एनेबेसिस’, ‘एगिसोलो’, ‘वेज एन्ड मिन्स’ आदि ग्रन्थ लेखेका थिए । विद्वान् जेनोफोन डेलियसको युद्धमा भाग लिएका सैनिक थिए । यिनका छोरा पनि युद्धमै मारिएका थिए । 

पश्चिमको युद्ध इतिहास एकपछि अर्को रोचक त छँदै छ, बृहत् पनि छ । तसर्थ पश्चिमाहरू आधिकारिक युद्ध इतिहासका तथ्यमा समृद्ध पनि छन् । होमरका युद्ध कृति ‘इलियाड’ र 

‘ओडिसी’ पूर्वीय प्राचीन ग्रन्थ रामायण र महाभारत एवं पुराण आदिमा वर्णीत युद्ध घटनालाई बिर्साउन पर्याप्त छन् । वेद, पुराण, रामायण, महाभारत आदि ग्रन्थ इतिहासकै प्रतिरूप भए पनि तिनमा प्रामाणिकताभन्दा जनश्रुतिलाई आधार मानिएकाले मिथक मान्नेहरू धेरै छन् । ढिलै लेखिए पनि ‘भारतीय सैन्य इतिहास’ समृद्ध र गौरवशाली छ । 

भारत र नेपालमा सैनिक इतिहास लेखन

महाभारतमा कौरव र पाण्डव युद्धको दस्ताबेजका रूपमा महाभारत ग्रन्थ छ । जहाँ, श्रीकृष्णलाई एक कमान्डरका रूपमा चरितार्थ गरिएको पाइन्छ । यसलाई इतिहासका रूपमा भन्दा पनि काव्यका रुपमा बढी लिइन्छ ।

पश्चिममा झैँ भारत र नेपालमा पनि सेना र युद्धका घटना अनगन्ती छन् । हामीकहाँ आधुनिक इतिहास लेखन भने धेरैपछि सुरु भयो । लामो समय आज्ञापत्र, राजाज्ञा, सनद, लालमोहर, उपदेश, राजविधानसार आदिबाट शासन सञ्चालन भएकाले यिनै कागजात हाम्रा इतिहासका स्रोत हुन् । यहाँ पश्चिमी देशमा झैँ सेना र देशको तथ्य इतिहास लेखनको अभ्यास भएन । भारतमा छत्रपति शिवाजी (सन् १६२७–८०) र नेपालमा पृथ्वीनारायण शाहको राज्यकालसम्म राज्य र राजकाजबारे पढ्ने, जान्ने, बुझ्ने स्रोतहरू राजाका उपदेश एवं अभिलेख, शिलालेख, दानपत्र, लालमोहर, बकसपत्र, राजा र उच्च अधिकारीका आदेश, पत्र, अर्जी, सनद थिए । दिल्ली साम्राज्यका सुल्तान–बादसाहका दरबारिया लेखकले ‘बाबरनामा’, ‘फराह बक्स’, ‘जङ्ग–नामा’, ‘तारिख–ए–मुजफ्फरी’ जस्ता स्तुति लेखे; सिलसिलेवार इतिहास लेखिएन । भारतमा सन् १९४७ पछि खोजमूलक सैन्य इतिहास लेखनले तीव्रता पाएको हो । 

आधुनिक इतिहासले कल्पनाप्रधान रचनालाई इतिहास स्वीकार गर्दैन । पृथ्वीनारायण शाहकालिक कवि सुवानन्द दासको ‘कवित्’ र ‘सांढ्याका कवित्’ एवं उनका समकालीन लेखनमा देवदेवीका स्तुति, भजन, लीला, मङ्गल, आरती, प्रार्थना, कर्खा, सवाई, गीत, कविता आदि पाउन सकिन्छ । शक्तिवल्लभ अज्र्याल विरचित (संस्कृत, विसं १८४९) जयरत्नाकरनाटक र पण्डित सुन्दरानन्द विरचित ‘त्रिरत्न–सौन्दर्य–गाथा’ मा इतिहासका पात्र र घटना उल्लेख भए पनि यी इतिहास होइनन् । भक्तपुर विजयपछि ललितावल्लभबाट ‘भक्तविजयकाव्य’ लेखियो । यसमा इतिहासका सन्दर्भ भए पनि यो इतिहास होइन । 

महेशराज पन्तका अनुसार नेपालको इतिहासको खोजी गर्ने काम सबैभन्दा पहिले भगवानलाल इन्द्राजी (भारत) ले गरेका हुन् । यो खोजलाई सेसिल बेन्डल (बेलायत) ले निरन्तरता दिए । यस सत्कार्यमा हरप्रसाद शास्त्री (भारत) को योगदान उल्लेख्य छ । नेपालको सिलसिलेवार इतिहास लेख्ने सिल्भाँ लेभी (फ्रान्स) हुन् । उनको कृति ‘ल नेपाल’ का ‘ए’ र ‘बी’ दुई ठेली सन् १९०५ मा र तेस्रो सन् १९०८ मा प्रकाशन भयो । त्यसपछि विसं १९६८ मा विलियम कर्कपेट्रिक लिखित ‘एन अकाउन्ट अफ दी किङ्डम अफ नेपाउल’ सन् १८११ प्रकाशन भयो । 

नेपालसम्बन्धी खोज गरी इतिहास लेखनको सुरुवात नेपालीबाट होइन, विदेशी लेखकहरूबाट भयो । समग्र देशको इतिहास लेखनमा नेपालीको सहभागिता भइनसकेको त्यो समयमा नेपाली सेनाको अलग इतिहास लेखनको अपेक्षा दुर्लभ हुन सक्थ्यो । त्यसैले सैनिक/गैरसैनिक कसैको ध्यान यसतर्फ आकृष्ट हुन सकेन ।  

नेपालको इतिहास लेख्ने प्रथम नेपाली

नेपालको इतिहास लेख्ने प्रथम नेपाली पं. अम्बिकाप्रसाद उपाध्याय हुन् । उनको कृति ‘नेपालको इतिहास र रामनगरको इतिहास’ विसं १९७९ मा भारतबाट प्रकाशन भयो । यसमा सैन्य वर्णन न्यून छ ।   

इतिहासका प्रामाणिक तथ्य खोज गरी अन्य प्रमाणमा भिडाई इतिहास लेख्ने नेपाली प्रथम लेखक बाबुराम आचार्य हुन् । विसं २०२२ मा काठमाडौँबाट प्रकाशन भएको ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’ मा नेपालको प्राचीन कालदेखिको सङ्क्षिप्त चर्चासँगै नेपाल एकीकरणमा समर्पित नेपाली सेनाबारे तिथ्यावलीसहित सिलसिलेवार वर्णन छ । आचार्यबाट लेखिएको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ एकदेखि चार भागसम्म विसं २०२४, २०२५ र २६ मा प्रकाशन भयो । यहाँ नेपाली सेनाको आधुनिक कम्पनी स्थापना, विकास र विस्तार एवं एकीकरण युद्ध घटनाका वर्णन परेका छन् ।  नेपालको इतिहासबारे सन् १९५६ र ६० मा अङ्ग्रेजी र इटालेली भाषामा इटालीका जुजेप्पे तुच्चीले दुई ग्रन्थ प्रकाशन गरेका छन् । 

नेपालको सैन्य इतिहासमा महत्व राख्ने, एकीकरण युद्ध लडेका वीर सेनानायकका बारेमा अलग कृति लेखन/प्रकाशन गर्ने सूर्यविक्रम ज्ञवाली हुन् । बनारसमा जन्मेका, कलकत्तामा अध्ययन गरेका ज्ञवाली दार्जिलिङमा जागिरे थिए । उनले दार्जिलिङबाट ‘पृथ्वीनारायण शाह’ विसं १९९२, ‘वीर बलभद्र’, विसं १९९७, ‘अमरसिंह थापा’ विसं २००० र ‘नेपाली वीरहरू’ विसं २००६ मा प्रकाशन गरे । यी कृति नेपाली सैनिक इतिहास अध्ययन–अनुसन्धानका निम्ति कोसेढुङ्गा हुन् । 

विसं २००० मा हरिनन्दन ठाकुरले पटनाबाट ‘नेपाल : देश और संस्कृति’ नामक ग्रन्थ प्रकाशन गरे । यसमा सैनिक सन्दर्भ उल्लेख छैन । 

प्रजातन्त्र स्थापनापूर्व नेपालको इतिहास लेखनमा योगदान गर्ने डिल्लीरमण रेग्मी र बालचन्द्र शर्मा हुन् । विसं २००७ मा प्रजातन्त्र स्थापनापछि नयराज पन्त, श्रीरामप्रसाद उपाध्यायसहित धेरै लेखकको नाम आउँछ । इतिहासका पछिल्ला केही ग्रन्थमा नेपाली सेना र एकीकरण युद्ध वर्णन समावेश छन् । 

नेपाली सेनाले विसं १८०१ असोज १५ मा नुवाकोट विजय युद्धदेखि विसं १८७१–७२ को नेपाल–अङ्ग्रेज युद्धसम्म आइपुग्दा सानाठुला झन्डै पाँच दर्जन युद्ध लड्यो । ती युद्धबारे सिलसिलेवार जानकारी पस्कने चिठीपत्र, आदेश, विवरण उल्लेख भएका कागजात उपलब्ध छैन । तत्कालीन शासक र भारदारमा सरकारी कागजातको संरक्षण गर्नु पर्छ भन्ने चेतना नहुँदा एकीकरण युद्धको सिलसिलेवार तथ्य विवरण राख्ने काम हुन सकेन । यसले गर्दा नेपाली सेनाको इतिहास लेखनका लागि सहायक सामग्रीमा भर पर्नुपर्ने बाध्यता छ । 

जङ्गबहादुरपछिका कागजात छन् 

प्रधानमन्त्री जङ्गबहादुर कुँवरले विसं १९०६–७ मा बेलायत–फ्रान्स भ्रमण गरे । फर्केपछि उनले सेनाको मुख्यालय जङ्गी अड्डा स्थापना गरे (जङगी अड्डा : विगत र वर्तमान, मोहन थापा, काठमाडौँ, २०८०) । कर्णेल डम्बरशमशेर थापाको सक्रियतामा जङ्गी अड्डामा विसं १८९२ देखिका सैनिक लेखापढीका कागजातलाई सजिल्द किताब बनाएर भाग १, २ र ३ का अलग सूचीसहित सुरक्षित गरिएको छ ।   

एकीकरणमा पूर्णविराम भएपछि विसं १९११ को भोट युद्धमा लेखापढी भएका कागजात सङ्गृहीत छन् । नेपाली सेनाले लडेको युद्धमध्ये विस्तृत कागजात पाउन सकिने ‘नेपाल–भोट युद्ध’ को मात्र हो । यस युद्धका कागजात ‘चीनको इलाका भोट मुलुकसँगको लडाञि भै वाहांपछि फेरि नेपालसर्कारको र भोटसर्कारको सलूक भयाको विस्तारको तवारिष मोफसलियेत्’ शीर्षकमा सङ्गृहीत छन् । यी सामग्री पुरातत्व विभागबाट प्रकाशन हुने ‘प्राचीन नेपाल’ को विसं २०४०–२०७१ सम्मका अङ्कमा प्रकाशित भएका छन् । सङ्गृहीत ती कागजातमा, तत्कालीन कागजात वा अभिलेख सङ्कलन गर्ने व्यक्तिले अङ्ग्रेजीको ‘हिस्ट्री’ वा ‘इतिहास’ नलेखेर अरबी भाषाको ‘तवारिष’ लेखेको देखिन्छ ।  सरकारीबाट सङ्गृहीत कागजातबाहेक नेपाल–भोट युद्धबारे नेपाली सेनाका सैनिक लालबहादुरले लेखेको ‘भोटयुद्धको सवाई, २०१४’ र कवि विद्यानाथले संस्कृतमा लेखेको ‘भोटकाव्य’ चर्चित छन् (अभिलेख २०७२, महेशराज पन्त, पृ.२) । सम्भवतः सैनिक सेवामा रहेर युद्धको सवाई लेख्ने पहिलो व्यक्ति तिनै लालबहादुर हुन् भने साहित्यिक योगदानकर्ता हवलदार देवीप्रसाद र कर्णेल झपटबहादुर हुन् ।  

प्रजातन्त्रपछि

विसं २००७ को परिवर्तनपछि नेपालको इतिहास र नेपाली सेनाको इतिहास लेखनमा आधुनिकपन आयो । योगी नरहरिनाथले विसं २०११ मा ‘गोरखालीहरूको सैनिक इतिहास’ प्रकाशन गरे । विसं २०२० मा सोमध्वज विष्टको ‘शाही सैनिक इतिहास’ र विसं २०४१ मा टेकबहादुर षत्रीको ‘शाही नेपाली सेनाको इतिहास’ प्रकाशन भयो । ४० को दशकपछि सैनिक इतिहास लेखन–प्रकाशनमा जङ्गी अड्डाको चासो बढ्यो । जङ्गी अड्डाबाट ‘शाही नेपाली सैनिक निशानको सङ्क्षिप्त इतिहास’ २०४७, ‘नेपालको सैनिक इतिहास’ २०४९, ‘नेपालको सैनिक इतिहास (भाग–२)’ २०६५, ‘नेपाली सेनाको इतिहास’ २०६९, ‘नेपालका ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरूको परिचय’ २०७७, ‘नेपाल एकीकरणको इतिहास (विसं १८०१–१८७२)’ २०७७, ‘नेपाली सेनाको इतिहास (विसं १८७२–२००७)’ २०७९ लगायत डेढ दर्जनभन्दा धेरै सैनिकसम्बद्ध ग्रन्थ प्रकाशन भएका छन् । युनिटहरू स्वयंले अलग इतिहास प्रकाशनको काम जारी राखेका छन् । उपर्युक्त कृति लेखनमा प्रा. सहायक रथी शिवप्रसाद शर्मा, सहायक रथी प्रेमसिंह बस्न्यात, महासेनानी घनश्यामवरसिंह थापा तथा गैरसैनिक लेखक तुलसीराम वैद्य, रत्नकमल वैद्य, त्रिरत्न मानन्धर, विजयकुमार मानन्धर, भवेश्वर पङ्गेनी, दिनेशराज पन्त, विनोद थापा आदिको योगदान छ ।

नेपाली सेनाको इतिहास धेरै लेखिए पनि तिनमा सैनिक व्यक्तिको सहभागिता न्यून छ । जङ्गी अड्डाबाट प्रकाशित ग्रन्थमा एकाधबाहेक अधिक गैरसैनिक लेखकको भूमिका छ । निजीस्तरमा अवकाशप्राप्त सैनिक अधिकारीहरूले सैनिक इतिहास लेखन/प्रकाशन गर्दै आएका छन् । यस सत्कर्ममा अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातको स्थान उच्च छ । बस्न्यातले ‘शाही नेपाली सेना र प्रधानसेनापतिहरू, २०५३, शाही नेपाली सेनाको भवानीदल गुल्म’ २०५५, ‘नेपालका गढी–किल्ला दर्पण (सैनिक इतिहास)’ २०७७ समेत सैनिक इतिहाससम्बद्ध १७ भन्दा अधिक कृति पस्केर नेपालको सैन्य इतिहासमा उल्लेख्य योगदान गरेका छन् । 

नेपाली सेनाबारे भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक के. मेहताले सन् २००५ मा ‘दी रोयल नेपाल आर्मी : मिटिङ दी माओइस्ट च्यालेन्ज’ ग्रन्थ लेखेका छन् । यो पुस्तक नयाँदिल्लीको रूपा एन्ड कम्पनी, अब्जरभर रिसर्च फाउन्डेसनले प्रकाशन गरेको छ । नेपालको सैनिक इतिहासमा निजीस्तरबाट योगदान दिने प्राज्ञ दिनेशराज पन्त हुन् । पन्तका ‘महामण्डलदेखि काँगडासम्म’, २०६७ र ‘गोरखाली विजययात्रा’ २०७०, प्रकाशन भएका छन् । यी ग्रन्थमा, एकीकरण अभियानमा नेपाली सेनाले लडेका युद्ध र विजयको तिथिमिति सङ्गृहीत छन् । प्राज्ञ पन्तका नेपालको इतिहाससम्बद्ध दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।  

सैन्य सङ्गठनको परिचय–इतिहास–गौरव उजागर गर्न सैनिक सेवा गरेका अवकाशप्राप्त सैनिकको आत्मकथा/आत्मवृत्तान्त/जीवनी प्रकृतिका ग्रन्थले थप मद्दत गर्छ । नेपालमा यसप्रकारको लेखन भइरहेको छ । यीमध्ये कमान्डिङ कर्णेल डम्बरशमशेर थापाको ‘डायरीका पाताबाट’ २०३०, भूतपूर्व सिपाही गोपाल लिखित ‘क. क. चन्द्रजंग थापा क्षत्रीको संक्षिप्त जीवनी’, प्रमुख सेनानी झङ्कबहादुर सिलवालको ‘नेपाली सेनामा छत्तीस वर्ष : अनुभव, अनुभूतिहरूको आत्मसंस्मरण’, अतिरथी नीरशमशेर जबराको ‘मेरो एक शताब्दी’ आत्मवृत्तान्त २०६६, रथी विवेककुमार शाहको ‘मैले देखेको दरबार’ २०६७, महारथी रुकमाङ्गद कटवालको ‘आत्मकथा’ सन् २०१४, रथी कृष्णनारायणसिंह थापाको समय सम्झना : जीवनको बाँसुरीमा बजेका धुनहरू, २०७८, महारथी छत्रमानसिंह गुरुङको ‘जनताको छोरो’ आत्मकथा २०७२, सहायक रथी चिनियाँबहादुर बस्नेतको ‘सिपाहीको जिन्दगी’ २०७४, महासेनानी पूर्ण ओलीको ‘महासेनानीको डायरी’ २०६९, रथी रिषिकुमार पाँडेको ‘अ.प्र.रथी ऋषिकुमार पाण्डेको ऐतिहासिक जीवनी’ २०७३, महासेनानी सुन्दरप्रताप रानाको ‘दरबारको दुःखान्त’ २०७६ र मानार्थ उपरथी गिरीप्रसाद बुढाथोकीको जीवनी ‘सिपाहीदेखि मन्त्री : गिरिप्रसाद बुढाथोकी’ २०७३, नेपालको सैनिक इतिहासलाई नियाल्न सहयोग पुग्ने कृति हुन सक्छन् । पल्टनले प्रकाशन गरेका श्रीनाथ गण, श्रीकालीबहादुर गण, पुरानो गोरख गण, कालीबक्स गण, सबुज गण, भवानीबक्स गुल्म (हाल गण), श्री शेर गणका परिचय ग्रन्थ र जङ्गी अड्डाबाट विसं २०२६ देखि वार्षिक प्रकाशन भइरहेको सिपाही तथा विसं २०५० असोजपछि मासिक/पाक्षिक प्रकाशन भएको सिपाही, सैनिक इतिहासका थप स्रोत हुन् । महारथी धर्मपालवरसिंह थापाउर्फ डी पाउलको ‘दी लिभिङ लायन अमर सिंह थापा’, जमदार वेदबहादुर खड्काको ‘रम्दीकोटे पुँवार खड्का वंशावली (नालापानी युद्धका योद्धा दयाराम खड्का)’ २०८१, सुबेदार मोहन थापाका ‘ती सैनिक’ २०७०, ‘सुबेदार’ २०७४, यज्ञनाथ आचार्यको ‘प्राइमिनिष्टर भीशमशेर र तत्कालीन नेपाल (वि.सं.१९८६–१९८९)’ २०६५, पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्यवृत्तान्त भाग १ र २’ विसं २०५९, सहायक रथी डा. केशरबहादुर भण्डारीको ‘संस्था र व्यवस्था’ २०८१, उपरथी शिवराम षत्रीको ‘नेपाल आर्मी चिफ्स सर्ट बायोग्राफिकल स्केचस्’, कर्णेल हनुमानसिंह बस्न्यात/पूर्णमानसिंह बस्न्यातको ‘श्रीपाली बस्न्यात परिचय, इतिहास तथा वंशावली’ २०५८, सैनिक इतिहासका गहकिला स्रोत हुन सक्छन् ।

राणाकालीन कर्णेल अनन्तशमशेर थापा, कर्णेल बालकृष्णशमशेर र पुष्करशमशेर, मेजर फलेन्द्रविक्रम राणा, रथी धनशमशेर जबरा, लेफ्टिनेन्ट जर्नेल मदनशमशेर जबरा र पछिका लेखक प्रमुख सेनानी नीरविक्रम प्यासी, उपरथी राजेन्द्र थापा, सिपाही पुण्यप्रसाद पौडेल, उपरथी आशबहादुर तामाङ, उपरथी आनन्द अधिकारी, महासेनानी गङ्गाराज मुकारुङ, पाइलट कर्णेल कैलाश गुरुङ, अतिरथी नीरशमशेर जबरा, उपरथी पूर्ण सिलवाल, मानार्थ उपरथी रमीन्द्र क्षेत्री, हुद्दा लप्टनसिं राई, रथी बलदेवराज महत, सेनानी डा. कर्णबहादुर थापा, कर्णेल सुबि शाहका कृतिलाई इतिहास होइन; सैन्य वाङ्मयमा गन्न सकिन्छ । कर्णेल गजराजसिंह थापा, कर्णेल छत्रबहादुर थापा, मुख्तियार भीमसेन थापा, काजी नयनसिंह थापा, बख्तावरसिंह थापा, रणवीरसिं थापा, प्रधान सेनापति माथवरसिंह थापा, काजी अमरसिंह थापा, सरदार भक्ति थापाका जीवनी र मानार्थ सैन्य पद पाएका सन्तवीर लामा, माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, गोपालप्रसाद रिमाल, मातृकाप्रसाद कोइराला, भूपालमानसिंह कार्की, विश्वबन्धु थापाका जीवनी भने नेपालको सैनिक इतिहासमा गणना गरिनुपर्ने कृति हुन् ।

युरोप–अमेरिकी महादेशका सैन्य–व्यक्तित्वका लेखनी विश्व सैन्य इतिहास, प्रविधि र साहित्यिक मूल्याङ्कनमा अब्बल छन् । अमेरिकी सेनामा काम गरेका अर्नेस्ट हेमिङ्वेको ‘दी सन अल्सो राइजेज’, ‘मेन विदाउट विमेन’, ‘फेयरवेल टु आम्र्स’, ‘फिएस्टा’, ‘दी स्नोस अफ किलिमन्जारो’, ‘टु ह्याब एन्ड ह्याब नट’ लगायतका साहित्य त संसारप्रसिद्ध छन् । उनको सन् १९५२ मा प्रकाशित ‘दी ओल्ड म्यान एन्ड दी सी’ ले सन् १९५३ को पुलित्जर पुरस्कार र सन् १९५४ को नोबेल पुरस्कार पायो । अन्य कैयन् सैन्य लेखकका कृति विश्वभर रुचाइएका छन् । यता नेपालको सन्दर्भमा नेपाली सेनाको ऐतिहासिक साइनो द्रव्य शाहको लिगलिग र गोर्षा विजय विसं १६१६ सम्म पुग्छ । साढे चार सय (४६६) वर्ष लामो विरासत बोकेको एसियाको पुरानो सैनिक सङ्गठनको स्थापना, परिचय र गतिविधि समेटिएको सैन्य र युद्ध इतिहास लेखन चाहिँ धेरैपछि सुरु भयो । कर्णेल उजिरसिंह थापा र सर प्रेमसिंह बस्न्यातको लेखन र ब्रिटिस–भारत गोर्खा सैनिकका लेखनीलाई अपवाद मान्दा नेपाली सैन्य व्यक्तित्वको लेखन परम्परा, अभ्यासको स्तर र सङ्ख्या गणनामा हामी पुछारमै छौँ । लेखनमा समर्पित एकाध सैन्य प्रतिभाका लेखनीलाई उत्प्रेरणा प्रदान गर्नमा जङ्गी अड्डाको ध्यान आकर्षित हुन नसक्नु अर्को दुःखद पक्ष हो ।