• २८ पुस २०८१, आइतबार

महासंघका अध्यक्ष शर्मा र पूर्व अध्यक्ष झा सम्मानित

blog

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष धर्मेन्द्र झालाई सम्मानित गरिदै ।

धर्बेन्द्र झा 

जनकपुरधाम, पुस २७ गते । मधेश प्रदेशमा शहिद पत्रकार उमा सिंहको स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष धर्मेन्द्र झा र धनुषा शाखाका पूर्व अध्यक्ष उमेश साहलाई सम्मानित गरिएको छ ।

शहिद पत्रकार उमा सिंहको नाउँमा जनकपुरधामको महावीर युवा कमिटीले घोषणा गरेको ११ हजार राशीको पुरस्कार र प्रमाणपत्रबाट तत्कालीन अध्यक्ष साहलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शर्माले पुरस्कार राशी, दोसल्ला र प्रमाणपत्र प्रदान गरी तत्कालीन अध्यक्ष साहलाई सम्मान गर्नुभयो ।

त्यसैगरी शाखाले नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष शर्मा र पूर्व अध्यक्ष धर्मेन्द्र झालाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरेको छ । धनुषा शाखाका अध्यक्ष पुरण साहले मधेश भूमिबाट नेपाली पत्रकारिता क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल बरिष्ठ पत्रकार झा र महिला भएर पत्रकारको साझा संगठन नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भएकाले उहाँलाई सम्मान गरिएको बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले समाचार लेखेकै कारण मर्न नपरोस् भन्ने मान्यतासाथ पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि अहिले पनि आन्दोलनमा रहेको बताउनुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्राको रक्षा गर्न महासंघ प्रतिबद्ध रहेको भन्दै उमासिंहको हत्याको अनुसन्धानको क्रममा भएका कानूनी प्रक्रियाले आफुलाई पनि चित नबुझेको बताउनुभयो । 

उहाँले यस विषयमा थप कानुनी न्यायका लागि बहस गर्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष शर्माले स्वरोजगारमुुलक मिडियालाई प्रबर्धन गर्ने विषयमा आफु गम्भीर भएर अघि बढने भन्दै सामाजिक उत्तरदायी भूमिका निर्वाह नगरेका सामाजिक सञ्जालबाट भइरहेको विज्ञापन चुहावटको असर पत्रकारलाई परेको बताउनुभयो ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले महिला पत्रकार उमा सिंह हत्याको नयाँ ढंगले अनुसन्धान हुनुपर्ने बताउनुभयो । उहाँले उमा सिंहको मृत्युपछि नेपाली पत्रकारिताले एउटा दिसा लिएको दावी गर्नुभयो । 

धनुषा शाखाका अध्यक्ष पुरण साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योती झा, बरिष्ठ पत्रकार एवम प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार, रामभरत साह, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश साह, निवर्तमान अध्यक्ष मनिका झा, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दास, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामत, सचिव बटुकनाथ झा सहितले शहिद पत्रकार उमा सिंहको बारेमा बोल्नु भएको थियो ।