• २७ पुस २०८१, शनिबार

‘लुम्बिनी घुम्ने पर्यटक डुङ्गामा ठगिन्छन्’

blog

लुम्बिनीको केन्द्रीय नहरमा डुङ्गामा रमाउँदै पर्यटक । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस २७ गते । सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक केन्द्रीय नहरमा चल्ने डुङ्गा चढेर रमाइलो गर्छन् । स्थानीय र बाहिरी देशबाट घुम्न आउने पर्यटकको डुङ्गामा चढेर फोटो भिडियो खिच्ने, टिकटक र रिल बनाउन मोहित हुन्छन् । तर त्यही डुङ्गामा पर्यटकहरू ठगिन्छन् ।

त्यहाँ केन्द्रीय नहर १६ सय मिटरमा डुङ्गा चल्छ । नहरको दक्षिणी छेउमा अखण्ड शान्ति दीप छ । अर्को छेउ नजिकै लुम्बिनी सङ्ग्रहालय छ । बसपार्कबाट सोझै मायादेवी मन्दिर नजिक पुग्न सकिन्छ ।

डुङ्गा चढ्दै नहरको दायाँ–बाँया रहेका बौद्ध विहार अवलोकन गरेका पर्यटकहरूले आफू ठगिएको पत्तो पाउँदैनन् । केन्द्रीय नहरमा डुङ्गा शयर गर्दा तोकिएभन्दा बढी शुल्क तिरेर पर्यटक ठगिएका हुन् । 

डुङ्गा सञ्चालन गर्न लुम्बिनी विकास कोष र रङ्गमल रिभर ल्यान्ड प्रालि भरतपुरबिच ५ वर्षका लागि सम्झौता भएको छ । १ करोड ७९ लाख ७८ हजार ३०० रकममा ध्वनि कम भएको र धुवाँ नभएको डुङ्गा सञ्चालन गर्ने सहमति भएको छ ।

सम्झौता अनुसार नेपाली र विदेशी नागरिकलाई एकतर्फी भाडा दर ५० रुपियाँ तोकिएको छ । आउजाउ गर्दा दुईतर्फी भाडा ८० रुपियाँ शुल्क तोकिएको छ । तर ठेकेदार पक्षले दुईतर्फी भाडा बापत १ सय रुपियाँ लिँदै आएका छन् । 

दुईतर्फी टिकट नछाप्दा पर्यटकलाई अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको स्थानीयको बुझाइ छ । भारतीय नागरिकले एकतर्फी भाडा बापत भारु ३५ रुपियाँ (नेपाली ५६ रुपियाँ) तिर्ने गरेका छन् ।

विद्यार्थीलाई पनि मार 

डुङ्गा शयर गर्दा विद्यार्थीलाई सहुलियतको व्यवस्था रहेको छ । तर त्यो कार्यान्वयनमा छैन । टिकट काउन्टरका कर्मचारीले विद्यार्थीलाई छुट नभएको दाबी गर्छन् । समूहमा ३०–३५ जना विद्यार्थीसँगै आउँदा ५ वटा टिकट निःशुल्क दिने गरेको कर्मचारीहरू बताउँछन् । जसलेगर्दा विद्यार्थीले पनि एकतर्फी टिकट बापत ५० रुपियाँ तिर्छन् । तर सम्झौताअनुसार विद्यार्थीलाई एकतर्फी २५ रुपियाँ र दुईतर्फी ५० रुपियाँ भाडा दर तोकिएको छ । 

बिहीबार डुङ्गा चढेर लुम्बिनी दर्शन गर्न आएका त्रिचन्द्र मल्टिपल क्याम्पसका विद्यार्थीले एकतर्फी ५० रुपियाँ भाडा तिरेर डुङ्गा चढेको बताउनुभयो । ‘टिकट काउन्टरमा भाडा दर सूची टाँसिएको छैन । ठेकेदारले एउटै टिकट मात्र देखाउँछन् । भाडा दर टाँस गरेको भए थाहा पाइन्थ्यो’ विद्यार्थी सम्झना निरौलाले भन्नुभयो । 

टिकट काउन्टरका एक कर्मचारीले रङ्गमल रिभर ल्यान्डले ठेक्का पाए पनि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा ३ का वडाध्यक्ष अकरामुदिन मुसलमानको जिम्मामा रहेको बताइन्छ । 

टिकट काउन्टरमा भाडा दर स्पष्ट रूपमा उल्लेख नगरिएको कारण पर्यटकले शुल्कबारे जानकारी नपाउनेस्थिति छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भर्खर टेन्डर भएका कारणले समस्या हुनसक्ने बताउँदै तत्काल सम्झौताअनुसारको टिकट दर कायम गर्न ठेकेदार पक्षलाई निर्देशन दिने बताउनुभयो ।