काठमाडौं, भदौ २३ गते । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सो निर्देशन दिएको हो ।
महानगरद्वारा जारी सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भए पनि भवनको नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको त्यस्ता भवनको नक्सा ९० दिनभित्र पास गर्न भनिएको छ ।
महानगरको सहरी व्यवस्थापन विभागले तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण सङ्कलन गरी स्थानीय सरकार ऐन २०७४ र प्रचलित भवन निर्माण मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिने जनाएको छ ।
यसैगरी, महानगरपालिकाले सीमा पर्खाल नियमित गर्ने तथा अनधिकृत सीमा पर्खाल हटाउन पनि सूचना जारी गरेको छ । महानगरले यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनेको छ । सूचनामा मापदण्ड विपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने उल्लेख छ ।