• १५ वैशाख २०८१, शनिबार

निर्वाचन प्रभावित हुनेगरी कर्मचारी सरुवा नगरौँ : प्रमुख सचेतक भट्टराई

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २२ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराइले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै प्रमुख सचेतक भट्टराईले सो आरोप लगाउनुभएको हो । 

निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले राजनीतिक आस्थाका आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम रोक्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको उहाँले दाबी गर्नुभयो । 

प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय भएको छ । यस्तो बेलामा सरकारले धमाधम दीर्घकालीन महत्त्वका निर्णयहरू गर्नु उचित छैन ।”

प्रतिनिधिसभामा अनेक खालका विधेयक ल्याउने काम पनि सरकारले गरिरहेको उहाँले बताउनुभयो । आस्थाका आधारमा अन्याय गर्न थालियो भने एमालेले प्रतिवाद गर्छ प्रमुख सचेतक भट्टराईले भन्नुभयो, “सरकारलाई म आग्रह गर्न चाहन्छु, अब कुनै खाले सरुवाहरू नगरौँ ।” निर्वाचन आयोगले भदौ २० गते यता कर्मचारी सरुवा, बढुवा नगर्न नगराउन निर्देशन सरकारलाई दिइसक्दासमेत सरकारले त्यसको कार्यान्वयन नगरेको उहाँले बताउनुभयो ।