• २५ असार २०८१, मङ्गलबार

छ मर्चेन्ट बैङ्करलाई कोष व्यवस्थापकको अनुमति

blog

काठमाडौँ, भदौ २० गते । नेपाल धितोपत्र बोर्डले थप छ मर्चेन्ट बैङ्करलाई विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको अनुमति दिएको छ । 

बोर्डले आइतबार प्रभु क्यापिटलसहित एनआईबीएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट क्यापिटल र एनआईसी एसिया क्यापिटललाई यो अनुमति दिइएको हो । यसअघि ग्लोबल इक्विटी फन्ड र अवसर इक्विटी फन्डले यस्तो अनुमति पाएका थिए ।  कोष प्रबन्धकको अख्तियारीसँगै यी मर्चेन्ट बैङ्करले निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नयाँ सेवा प्रदान गर्नेछन् । नवीन ज्ञान सीप प्रयोग भएका उद्योग व्यवसाय सञ्चालन गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेज फन्डजस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न यी कम्पनीले भूमिका निर्वाह गर्नेछन् । 

यस्तो कोषमा बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपालीलगायतले लगानी गर्न सक्ने बोर्डले जनाएको छ । 

पुँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली २०७५ को व्यवस्थाबमोजिम कोष व्यवस्थापकको काम गर्न अनुमति दिएको हो ।