काठमाडौं, भदौ १९ गते । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ ।
आज नेप्से परिसूचक ६.६८ अङ्क बढेर १९७७.३० बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५७ अङ्क बढेको छ भने फ्लोट इन्डेक्स ०.४४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अङ्क बढेको छ ।
कारोबारमा आएका २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ७ करोड १६ लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक १.८५ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ ।
आज रुरु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ । यता सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्य यस दिन करिब ३ प्रतिशत घटेको छ । त्यस्तै, रिडी पावर आठ करोड ९१ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।