• १० मंसिर २०८१, सोमबार

प्रकृतिको अनुपम उपहार

blog

प्रेमराज सिम्खडा

 नेपालका प्रमुख धाममध्ये एक हो बडीमालिका । श्रावण शुक्ल द्वादशीका दिनबाट श्रावण शुक्ल चतुर्दशीका दिनसम्म धुमधामका साथ बडीमालिकाको पूजा हुन्छ । समुद्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित बडीमालिका माईको दर्शनका लागि भक्तजन त्रिवेणी पाटनलाई छिचोल्दै पुग्छन् । एक रात त्रिवेणीमा नै बास बस्नुपर्छ । श्रावण शुक्ल त्रयोदशीका दिन बिहान स्नान गरेर धूपबाती बाल्ने र त्रिवेणीमा रहेका मन्दिरमा पूजा गरेर बडीमालिका माईको जयजयकार गर्दै भक्तजनले उकालो बाटोको यात्रा गर्छन् । यात्रामा त्रिवेणी पाटनमा ढकमक्क फुलेका विभिन्न प्रजातिका फूल, मैदानमा लस्करै लागेका भेडाका बथान, घोडाहरू नियाल्न सकिन्छ । बाजुराका भक्तजनहरू पनि त्रिवेणीमा आएर स्नान गर्नुपर्ने नियम जस्तै छ । 


त्रिवेणीमा सबै धातुले बनेको गजुरलाई पुजारीले नुहाइदिने चलन छ । कालीकोट, बाजुरा, डोटी, जुम्ला, अछाम, बैतडी, बझाङ, दार्चुला, दैलेखका भक्तजनहरूले गजुर नुहाउँदै गर्दा आ–आफ्नो क्षेत्रतिर खोस्ने चलन पनि छ । गजुर जसले खोस्न सक्यो, त्यो क्षेत्रमा बडीमालिका माईको नजर पर्ने र वर्षभरि शुभ रहने विश्वास छ । विशेष गरी पूर्व वा पश्चिम भनेर गजुर खोस्ने चलन छ । आजसम्म पूर्वतिर अर्थात् कालीकोट पक्षले गजुरलाई खोसेर लगेका छन् । यसपालि पनि कालीकोट समूहले गजुर खोसेर त्रिवेणी पाटनको परिक्रमा गरेका थिए । 


यसपछि भक्तजनको यात्रा बडीमालिकातर्फ अगाडि बढ्छ । लैरीविनायकसम्म पाटनको यात्रा हुन्छ । त्यसपछि भने कहीँ भिरालो चुचुरो परेका अग्ला पहाड, कहीँ थुम्काथुम्की, कहीँ फाँट रहेका छन् । कञ्चन नीलो आकाश, आँखाले भ्याएसम्म देखिने पहाड–पर्वत, बेलाबेला लुकामारी खेल्ने भुइँकुहिरो, अनि अनायासै स्पर्श गर्ने चिसो सिरेटो, पृष्ठभूमिमा यदाकदा गुञ्जने देउडाभाकाले कुनै काल्पनिक लोकमा प्रवेश गरिरहेका छौँ जस्तो हुन्छ । मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन विकासका लागि आसपासका स्थानीय तहले प्रचार मात्र गरे पुग्छ । बडीमालिका तीर्थयात्रा प्रकृतिको काखमा रमाउन उत्सुकहरूका लागि गजबको गन्तव्य हो भन्नुहुन्छ सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सज्याल । 


बडीमालिकाको दर्शन गर्न यस पटक जुम्ला, कालीकोट, दैलेख, बाजुरा, डोटीबाट सरकारी पल्टनसहित तीर्थयात्रीहरू आए । बैतडी, बझाङ, दार्चुला, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, गोरखा, चितवन, बारा, सिरहा, सप्तरी, सिन्धुलीबाट पनि मानिस आए । भारतबाट पनि थुप्रै तीर्थालु आउँछन् ।  बाटोमा भेटिएका वृद्धवृद्धासमेत सात दिनदेखि १५ दिनसम्म पैदल यात्रा गरेर बडीमालिका पुगेको प्रतिक्रिया दिइरहेका थिए । कोभिडका कारण गत दुई वर्ष यसको रौनक घटेको थियो । यसपालि भने बडीमालिकामा मेला भर्नेहरूको घुइँचो थामी नसक्नु भयो । बडीमालिका यात्रामा भेटिनुभएका भानु आचार्यले आफूले सुनेभन्दा यो ठाउँ धेरै नै मनमोहक भएको सुनाउनुभयो । स्वर्ग भनेको सायद यही होला । जता हे¥यो उतै मन रमाउने । यहीँ महिनौँ बस्न पाए बल्ल धीत मर्ने थियो कि भन्दै उहाँ साथीहरूसँग आफ्नो मनको कुरो पोखिरहनुभएको थियो । त्यसो त गन्तव्यमा मात्र होइन, यात्रामा पनि मन उत्तिकै रोमाञ्चक हुन्छ । बाटोमा भेटिने स–साना मठमन्दिर, कञ्चन हिमाली खोला, अविरल बगिरहने झरना, विशाल पाटन एवं घाँसेमैदान । जति हेरे पनि मन अघाउँदैन ।  यहाँका पाटनहरूमा भेडा चराउन ल्याइन्छ । त्रिवेणी बडीमालिका क्षेत्रमा यो समयमा एक लाखभन्दा बढी भेडा चर्ने गरेको स्थानीयवासी बताउँछन् । कालीकोट, बाजुरा, हुम्ला, मुगु, अछामलगायत जिल्लाबाट भेडा ल्याएर वैशाखदेखि असोजसम्म यहाँ चराउने गरिन्छ । लौरीविनायकमा भेटिनुभएका भेडागोठाला रङ्ग खड्काले द्वन्द्वकालमा केही भेडापालक घटे पनि पछिल्लो समय बढेर पहिलेकै अवस्थामा पुगेको जानकारी दिनुभयो । यस क्षेत्रका फाँट हिउँदमा सेताम्मे हुन्छन्, वर्षायाममा रङ्गीचङ्गी । प्रकृतिकोे अनुपम उपहार नै हो– त्रिवेणी बडीमालिका क्षेत्र ।