• ११ पुस २०८१, बिहिबार

तीन विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

blog

मीनराज भण्डारी

काठमाडौँ, भदौ १८ गते । विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको टर्मिनल भवन बनाउन एक अर्ब ७५ करोड रुपियाँ लागत अनुमान गरिएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार करिब नौ अर्ब रुपियाँ लगानीमा निर्माण हुने तीनवटा नयाँ टर्मिनल भवनको काम तीन वर्षभित्र सक्ने गरी योजना प्राधिकरणले बनाएको छ । 

५० वर्षभन्दा पुराना ती विमानस्थलका टर्मिनल भवन साँघुरो, पानी चुहिने, जीर्ण अवस्थामा पुगेकाले सुविधासम्पन्न टर्मिनल भवन बनाउन लागिएको उहाँले बताउनुभयो ।

नयाँ टर्मिनल भवन बन्न लागेका विमानस्थलमध्ये विराटनगर र नेपालगञ्जमा हाल रात्रिकालीन उडानसमेत हुँदै आएकाले हवाई उडान र यात्रुको चापका आधारमा उड्डयन सुरक्षा तथा यात्रुको सुविधालाई दृष्टिगत गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “नयाँ टर्मिनल भवनमा कन्भेयर बेल्ट, यात्रु प्रतीक्षालय, कन्फेक्सरी सप, पसल क्लबसहितको खुला र फराकिलो भवन निर्माण हुन लागेको हो ।”

त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा बन्ने नयाँ टर्मिनल भवन निर्माणका लागि नेपाली सेनासँग छलफल भइरहेको प्रवक्ता निरौलाले बताउनुभयो ।

हाल विमानस्थलको सुरक्षामा खटिएको नेपाली सेनाको ब्यारेक रहेको क्षेत्रमा नयाँ टर्मिनल भवन बनाउने तयारीअनुसार सेनालाई धावन मार्गको पारिपट्टि सार्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो । 

यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि चालू आर्थिक वर्षभित्रै नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गर्ने प्राधिकरणको तयारी छ ।

नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।