• ११ पुस २०८१, बिहिबार

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि कम्पनी दर्ता

blog

लक्ष्मण काफ्ले

काठमाडौँ, भदौ १८ गते । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पब्लिक लिमिटेड कम्पनी दर्ता भएको छ। कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा शुक्रबार दर्ता भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको हो। 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजना कम्पनी मोडलमा निर्माण गर्न सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै घोषणा गरिएको थियो। गत असार १४ गते सरकारले कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो।

लामो समयसम्म विदेशी कम्पनीले आयोजना अड्काएर राखेपछि एक हजार दुई सय मेगावाट क्षमताको यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने उद्देश्यले विदेशी कम्पनीबाट भिकिएको थियो। यो आयोजनाका लागि भनेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीबाट ७० अर्ब रुपियाँभन्दा बढी सङ्कलन गरेको छ। सन् २०१४ मा फ्रान्सेली कम्पनीले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो । लामो समयसम्म विदेशी कम्पनीले यो आयोजनाको काम अगाडि बढाएका थिएनन्। केही समयअघि सरकारले चीनको गेजुवा ग्रुप अफ कम्पनी लिमिटेडबाट फिर्ता लिएको थियो।

यो कम्पनीको उद्देश्यमा बूढीगण्डकी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन, प्रसारण र बिक्री, सिँचाइ सुविधा उपलब्ध गराउने, माछापालनलगायत अन्य आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने रहेको छ। यो कम्पनीको अधिकृत र जारी पुँजी २० अर्ब रुपियाँ रहेको छ। यसमध्ये संस्थापक लगानीकर्ताले १६ अर्ब रुपियाँ लगानी गर्ने छन्। आयोजना प्रभावित स्थानीय बासिन्दालाई दस प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि २० प्रतिशत छुट्याइएको छ।

संस्थापक लगानीकर्ताहरूमध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ५० प्रतिशत, अर्थ मन्त्रालयको ३० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत लगानी रहने छ। धादिङ र गोरखाका साबिकका २७ गाविसका ५० हजार मानिस प्रभावित हुने बताइएको छ। यो आयोजनामा हालसम्म सरकारले ४० अर्बको मुआब्जा वितरण गरिसकेको छ।