• ७ जेठ २०८१, सोमबार

पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री देउवा

blog

औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : कविन अधिकारी

काठमाडौं, भदौ १७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।


प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विकासका लागि नेपाल सरकार सदैव प्रतिबद्ध छ । गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष हो । ठाउँको कमी छ, जग्गा चाहियो भन्ने कुरा उठाउनुभयो । यो जायज कुरा हो ।’’

प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।


प्रधानमन्त्री देउवाले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषदमा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताउनुभयो । उहाँले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्नुहुँदै तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान नहुने बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘‘समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रिपरिषदमा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउन चाहन्छु । विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान हुँदैन । राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’’

प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।