• ११ मंसिर २०८१, मङ्गलबार

प्रिपेड डलर कार्ड लिने अठतीस हजार नाघे

blog

काठमाडौँ, भदौ १६ गते । विदेशमा भुक्तानी गर्नुपर्ने अमेरिकी डलर भुक्तानी सहजताका लागि हालसम्म ३८ हजार ६६ जनाले प्रिपेड डलर कार्ड लिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । 

२०७७ चैत ८ गते केन्द्रीय बैङ्कले निर्देशन जारी गर्दै ‘क’ र ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले यस्तो कार्ड जारी गर्न अनुमति दिएको थियो । यस्तो कार्डमार्फत वार्षिक पाँच सय अमेरिकी डलरसम्म भुक्तान गर्न सकिन्छ ।

आमसर्वसाधारणले विदेशमा गुर्नपर्ने भुक्तानी सहज बनाउने गरी यस्तो सुविधा प्रचलनमा ल्याइएको थियो । यसअनुरूप गत असार मसान्तसम्म ९३ लाख ८५ हजार अमेरिकी डलर लोड गरिएको र यसमध्ये ६१ लाख अमेरिकी डलर भुक्तानसमेत भइसकेको राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिनुभयो ।

मङ्गलबार राष्ट्र बैङ्कले एक निर्देशन जारी गर्दै वाणिज्य तथा विकास बैङ्कले प्रिपेड डलर कार्डमार्फत डेढ दर्जन शीर्षकमा वस्तु तथा सेवाको भुक्तानी नगर्न निर्देशन दिएको छ । 

“जुन उद्देश्यले डलर कार्ड ल्याइएको हो, सोहीअनुरूप नै प्रयोग भएको देखिएको छ । अनुत्पादक र फजुल खर्च नहोस् भनेर मङ्गलबार बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएका हाँै,” उहाँले भन्नुभयो । नयाँ निर्देशन पालना नभए विदेशी मुद्रा अपचलनसम्बन्धी कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो । 

अनलाइनमार्फत भुक्तानी गरी विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा गर्नुपर्ने भुक्तानीका लागि डलर कार्डको व्यवस्था गरिएको हो । पौडेलका अनुसार यस्तो कार्डको अधिकांश प्रयोग उद्देश्यअनुरूपकै काममा परिचालन भएको छ । उहाँले भन्नुभयो, “स्वास्थ्य उपचारको भुक्तानी, अनलाइन अध्ययनको फी, जर्नल खरिद, विज्ञापनजस्ता कार्यमा प्रयोग भएको छ ।” 

केन्द्रीय बैङ्कको निर्देशनअनुसार राजनीतिक संस्था, धार्मिक संस्था, सट्टेबाजी, चिट्ठा, पीओई फन्डिङ, जुवा, रियल स्टेट एजेन्टलाई भाडालगायत १८ शीर्षकअन्तर्गतका वस्तु तथा सेवा उपभोग गरेर डलर कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ ।