काठमाडौँ, भदौ १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन प्रवर्द्धन गर्ने कार्य सबै नियामक निकायको सामूहिक जिम्मेवारी भएको बताउनुभएको छ।
नियामक निकायबाट हुने अनुगमन तथा सुपरीवेक्षणको कार्य कमजोर भएको बताउँदै उहाँले सुशासनका लागि सबै मिलेर समन्वय र सहकार्यसाथ अघि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो। आयोगमा उजुरी पर्दैमा त्रसित हुने र काम गर्न छोड्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ।
टङ्गालस्थित आयोगको केन्द्रीय कार्यालयमा बुधबार आयोजित ‘नियामक निकायहरूको प्रभावकारिता, आपसी समन्वय र सहकार्य’ विषयक अन्तरक्रियामा प्रमुख आयुक्त राईले जसलाई जे कामका लागि नियुक्ति तथा पदस्थापन गरिएको हो त्यही काममा जिम्मेवारी दिनुपर्ने बताउनुभयो।
उहाँले बैङ्किङ प्रणालीमार्फत नै कालोधन आउने कार्य भएको बुझिएकाले सोको अन्त्य गर्नुपर्ने, सबै रेमिट्यान्स बैङ्किङ प्रणालीमार्फत नै ल्याउन थप प्रयास गर्नुपर्ने, ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने वार्षिक प्रतिवेदनमा नेपालको अवस्थामा सुधार ल्याउन सबै नियामक निकायले आ–आफ्नो क्षेत्रमा थप प्रभावकारिता ल्याई यसमा सुधार ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो।
अन्तरक्रियामा राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैङ्क, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा समिति, विद्युत् नियमन आयोग, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, धितोपत्र बोर्ड नेपाललगायतका प्रमुखहरूको सहभागित रहेको आयोगले जनाएको छ।