• ११ मंसिर २०८१, मङ्गलबार

प्रधानन्यायाधीशको पहिलो दिनको बयानपछि सांसदकाे प्रतिक्रिया

blog

महाअभियोग सिफारिस समितिको बैठकमा बुधबार जवाफ दिनुहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ १५ गते। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको बयान लिनेक्रम बिहीबारसमेत चल्ने भएको छ।बुधबार सबै प्रश्नको जवाफ दिने समय नपुगेपछि महाअभियोग सिफारिस समितिले बिहीबार बिहान ११ बजेका लागि बोलाएको छ ।

बुधबार बयान लिएपछि पत्रकारसँग कुरा गर्नुहुँदै नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग नै निस्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताउनुभएको छ।

बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएका निलम्बित प्रधानन्यायाधीश जबराले बयानकाका क्रममा महाअभियोग प्रस्ताव नै संविधान बमोजिम अघि नबढ्दा निस्क्रिय बनिसकेको बताउनु भए लगत्तै सांसद पोखरेलले यसको अर्थ नरहेको बताउनु भयो।

उहाँले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३-४ दिनसम्म लगातार चल्ने बताउनु भयो।सांसद पोखरेलले प्रधानन्यायधीश जबराविरुद्ध तीन महिनाले पनि नपुग्ला कि भन्ने तथ्यहरु आइरहेको उल्लेख गर्नुभयो।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताउनु भयो।उहाँले न्यायाधीशले ल्याएका गलत कुराहरुमा सहभागी नबन्दा आफूविरुद्ध महाअभियोग लगाइएको कुराहरु प्रधानन्यायाधीश जबराले राख्नुभएको पनि बताउनु भयो।

बैठकपछि बोल्दै नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त नबुझेर महाअभियोग लगाएको र महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त नबुझ्दा प्रधानन्यायाधीश जबराले प्रश्तावकमाथि प्रश्न गर्नु सामान्य भएको बताउनु भयो।उहाँले सुुरुको दिन भएर लामो समय लागेको र आगामी दिनमा प्रक्रिया चाँडो अघि बढ्ने जानकारी गराउनुभयो।प्रधानन्यायाधीशले गोलमटोल जवाफ दिएको उहाँको भनाइ छ।

बैठकपछि बोल्दै नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिनुभयो।उहाँले नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहे पनि समिति सभापति र अन्य सांसद नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताउनु भयो।

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्ने धारणा राख्नुभयो।उहाँले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको बताउनु भयो।सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताउनु भयो।उहाँले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्व प्रधानन्यायाधीश र न्यायधीशमाथि प्रश्न उठाउनुभएको पनि बताउनु भयो।