• ११ मंसिर २०८१, मङ्गलबार

निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिन सुरु

blog

जवाफ दिनुहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ १५ गते । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ ।

बुधबार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो ।

यसअघि बन्द कोठाभित्र जवाफ लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसका कारण जवाफ लिन ढिलाइ भएको थियो । समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले जवाफलाई खुला राख्नुपर्ने धारणा राख्नुभएको थियो । यद्यपि, नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा र नेकपा (एकीकृत समाजवादी) का कल्याणी खड्काले बन्दमा जवाफ लिनुपर्ने अडान लिनुभयो ।

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।

गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई जवाफ दिनका लागि बोलाएको थियो । आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे जवाफ दिन जबरा सिंहदरबार पुग्नुभएको थियो ।

गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्वनमा हुनुभएको थियो ।