• ४ जेठ २०८१, शुक्रबार

पशुपतिमा दुई हजार ४०० सुरक्षाकर्मी परिचालित

blog

आवश्यकताअनुसार पशुपति मन्दिर परिसरमा सुरक्षाकर्मीको व्यवस्था

काठमाडौं, भदौ १४ गते । पशुपति मन्दिर परिसरमा भएकाे तीज कार्यक्रमकाे लागि दुई हजार ४०० प्रहरी परिचालन गरिएको छ । प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा  एक हजार २०० पहिलो सिफ्टका प्रहरी कर्मचारी तैनाथ छन् । 

महिला प्रहरी एक हजार र पुरुष एक हजार ४०० गरी जम्मा दुई हजार ४०० प्रहरी कर्मचारी २४ घण्टाका लागि खटिने छन् । आवश्यकताअनुसार पशुपति मन्दिर परिसरमा सुरक्षाकर्मीको व्यवस्था गरिएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिर परिसरभित्र प्रवेश गरेका र परिसर वरिपरिको वातावरणमा कुनै सुरक्षाको चुनौती नहोस् भन्नका लागि २४ सय प्रहरीको व्यवस्थापन गरिएको हो । उहाँले भन्नुभयो, “यसमा प्रहरीले घेरा, बिट, पिकेट, रिजर्भ, स्ट्राइकिङ, विपद् उद्धार टोली, चिकित्सा सहायताका लागि एम्बुलेन्स, सीसीटीभी युनिट, सिभिल ड्रेसलगायतका प्रहरी परिचालित छन् ।” 

तीजका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक यातायात रोकिने छैन ।

पूर्व–गौशाला मित्रपार्क सडकदेखि पूर्व–पश्चिम–पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम–उत्तर–गौशाला तिलगंगा चक्रपथदेखि उत्तर–दक्षिण–मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिणसम्म यो नियम लागू हुनेछ । 


हिन्दु नारीहरुको महान चाड हरितालिका तीज भएकाले पर्वलाई मध्यनजर गरी पशुपति क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नसालु पदार्थहरु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ 'क' र 'ख' अनुसार सोमबारदेखि नै लागू हुने गरी पूर्ण रुपमा रोक लगाइएको छ । कसैले यसको विपरीत काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने पनि प्रशासन कार्यालयले जनाएको छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।